सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
घाँटीको क्यान्सर रोगले चाप्दै लगेपछि बीपीले २०३८ जेठ ८ गते एक वक्तब्य दिनुभयो, “म अब दिल्ली जाँदैछु इलाजको निम्ति, हुनसक्छ मलाई बाहिर पनि जान परोस् । चाँडै फर्किन्छु कि कुन अवस्थामा फर्किन्छु, त्यो मलाई थाहा छैन । म तपाईँहरूसँग अहिलेको लागि विदा लिएर जाँदैछु । मैले भन्ने कुरा ५ वर्षदेखि र त्योभन्दा पहिलेको अवस्थामा पनि धेरै भनिसकेको छु । विशेष गरेर जब हामी हिन्दुस्तानबाट फर्कियौँ, त्यसपछि पनि भन्दैआएको छु । त्यसो हुनाले त्यो नै मेरो मार्गदर्शन हो ।”
उहाँ इलाज र केही उपचार गरेर स्वदेश फर्किनुभयो । यसै बीचमा २०३८ मंसिर १६ गतेदेखि २०३९ जेठ ८ गतेसम्म उहाँले आफ्नो चर्चित ‘आत्मवृत्तान्त’ बरिष्ठ अधिवक्ता स्व. गणेशराज शर्मालाई रेकर्ड गराउनु भयो ।
बिमारले फेरि चाप्न थालेपछि २०३९ असार ११ गते बीर अस्पतालको आईसीयुमा भर्ना गरियो । चिकित्सकहरूको सल्लाहमा उहाँलाई असार २७ गते बैंककको अस्पतालमा उपचारार्थ लगियो ।
बैंकक लगिएको तुरुन्तै यता सूर्यबहादुर थापाको मन्त्रिमण्डलले एउटा निर्णय लियो, भूतपूर्व प्रधानमन्त्रीको निधन हुँदा साविकमा दिँइदैआएको सार्वजनिक विदा अबदेखि नदिने । यो निर्णय बीपीको निधनमा विदा दिनु नपरोस् भन्ने बद्नियतबाट निर्देशित थियो । बाचुन्जेल बीपीले यस्ता अपमानका घुट्का पाईला-पाईलामा पिउँदै हिंड्नु पर्यो ।
उहाँ सासले मात्र बोल्नुहुन्थ्यो, जो प्रायः बुझिँदैनथ्यो, आवाज आउन क्रमशः छोड्दैगएको थियो । मृत्यु अब टाढा छैन भन्ने यकिन भएपछि उहाँले भाई गिरिजाबाबुलाई भन्नुभएछ, “अब म उपचार गरेर बाँच्ने हुईनँ । म स्वदेशमै मर्न चाहन्छु । यहाँबाट मलाई लगिहाल ।” २०३९ साल साउन ६ गते भेन्टीलेटरमा अक्सिजनसहित उहाँलाई बेहोस अवस्थामा अपरान्ह ६ बजे काठमाडौँ ल्याईपुर्याइयो । त्रिभुवन विमानस्थलमा उहाँको दर्शन गर्न पुगेका हजारौँ कार्यकर्ताहरूले उहाँलाई स्टेचरमा देख्नमात्र पाए । दर्शनार्थीहरूको ठूलो भीड थियो।
वास्तबमा जननायक बीपी कोइरालाको निधन धेरै टाढा छैन भन्ने थाहा पाएदेखि नै देशभरिका कार्यकर्ताहरू क्रमशः राजधानी आइरहेका थिए । उहाँलाई कोईराला निवास, जय बागेश्वरी (काठमाडौँ) ल्याई पुर्याएपछि दिईरहेको अक्सिजन झिकियो । उहाँको अब निधन भएको, काँपेको स्वरमा डाक्टरहरूले गिरिजाबाबुलाई सुनाए ।
उहाँका परिवारका सदस्यहरू स्वयं गिरिजाबाबु समेत अब के गर्ने भन्ने निर्णय लिन धर्मपत्नी सुशीला कोइरालाज्यू बस्नुभएको कोठामा जम्मा भए । उहाँले यति मात्र भन्नुभयो, “तिमीहरू आफैं जानिफकार छौ, गिरिजाबाबु हुनुहुन्छ । जे गर्ने हो गिरिजाबाबुलाई सोधेर गर । तिमीहरूले जे गर्छौ त्यो मलाई स्वीकार छ ।”
प्राँगणमा जम्मा भएको मानव–सागरसमक्ष निधनको खबर सुनाउनुपर्ने, तर कसले ? अन्ततः गिरिजाबाबुले बार्दलीबाट ठूलो स्वरले भन्नुभयो, “सान्दाजु अब हामी बीच हुनुहुन्न ।” यति भनेपछि अबरुद्ध गलाका बीच उहाँले भन्नुभयो, “उहाँको पार्थिव शरीर अहिले ८ बजे तल हलमा राखिने छ । भोली दिउँसो ठीक ३ बजे शवयात्रा शुरू हुनेछ । शबयात्रा र नगर परिक्रमापछि साँझ ७ बजे उहाँको अन्तिम संस्कार हुनेछ ।”
निधनको यो समाचार बीबीसी, अल इन्डिया रेडियोलगायत विदेशी सञ्चार माध्यमहरूबाट महत्वका साथ आउन थाल्यो । अल् ईन्डिया रेडियोले पहिलोपटक बीपीबारे समाचार प्रशारण गरेको मैले सुनें, नत्र भारतीय सरकारी संचारमाध्यमबाट कुनै सामग्री सुनिंदैनथियो, "यह आकाशवाणी है । अब देवकी नन्दन पाण्डे से हिन्दी में समाचार सुनिए, नेपाल के पूर्वप्रधानमन्त्री तथा जानेमाने लोकतन्त्रवादी नेता विश्वेश्वरप्रसाद कोइराला का नेपाली राजधानी काठमाण्डु में निधन....।" हुन त त्योभन्दा अघि नै उहाँको अन्तिम अवस्थाबारे समाचार आइरहेकै थियो ।
तत्कालीन पञ्च प्रधानमन्त्री सूर्यबहादुर थापा र गृहमन्त्री नैनबहादुर स्वाँर पटकपटक त्यहाँ कोइराला निवास गईरहेका हुन्थे । उनीहरूको इच्छा थियो शबयात्रा नभईदेओस् । तर कार्यकर्ताले त्यो सुन्न मान्ने कुरै थिएन । वास्तबमा उहाँको शबयात्रामा काँग्रेसका कार्यकर्ता बाहेक अन्य पार्टीका नेता तथा कार्यकर्ता र ठूलो संख्यामा बुद्धिजीवीहरू सामेल थिए ।
कयौँ कार्यकर्ताहरूले पार्टीको चारतारे झण्डा तयार गरेर ल्याएका थिए । उनीहरू झण्डा उचालेर शबयात्रामा जान जोखिम मोल्ने मनस्थितिमा थिए । आखिर, शवयात्रा गर्ने तर कार्यकर्ताले झण्डा नबोक्ने, पार्थिव शरीर राखिएको गाडीमा मात्र झण्डा राख्ने तय भयो र त्यसै गरियो । पन्नालाल श्रेष्ठजीले रातारात गरेर उहाँको तस्बीरसहित नाराका पोस्टर, प्लेकार्ड हजारौँको संख्यामा तयार गरिदिनु भयो ।
भोलीपल्ट साउन ७ गते ठीक ३ बजे शवयात्रा शुरू भयो । बीपीलाई राखिएको ट्रकमा गिरिजाबाबु लगायत उहाँका जेठा दाजु मातृकाप्रसाद कोइराला, परिवारका सदस्य र गणेशमानजी, किसुनजी तथा पार्टीका अन्य नेताहरू हुनुहुन्थ्यो । श्रद्धाञ्जली र समवेदना दिन भारतबाट आउनुभएका नेताहरू चन्द्रशेखर, मधु दण्डबते, देवेन्द्रप्रसाद सिंह पनि ट्रकमा बस्नुभएको थियो ।
शवयात्राको ठाउँठाउँमा लावा फूल सहित श्रद्धाञ्जली चढाएका र भक्कानिएका सर्वसाधारणको गिन्तीसाध्य थिएन । बीपीलाई चितामा चढाउँदा भीडबाट एकजना प्रौढ ठूलो स्वरले चिच्याउँदै भने, “सान्दाजुलाई नजलाओ; हाम्रा छोरा–नातीले पनि बीपीलाई देख्न पाउनुपर्छ...।” ती को थिए, मैले अहिलेसम्म चिन्दिनँ । तर उहाँको धार्मिक विधिले काज किरिया भने गरिएन । त्यो पनि निकै खैलाबैलाको कुरा भएको थियो ।
राजा वीरेन्द्रले उहाँको निधनमा दिएको ‘शोक वक्तब्य’ मा ‘जुनसुकै नेपाली मर्दा पनि हामी दुःखी हुन्छौँ...’ भन्ने कपटपूर्ण अंश अविश्मरणीय विम्बका रुपमा रहेका छन् । नेपालको इतिहासमा त्यो सबभन्दा ठूलो शवयात्रा थियो । साउन १८ गते खुलामञ्च टुँडिखेलमा विशाल शोकसभा भयो । शोकसभालाई संवोधन गर्दा भारतीय नेता मधु दण्डवतेले दिएको भाषणलाई पञ्चायती सत्ताले पचाउन नसकेर जनाएको निर्देशित आपत्ती हेर्नलायक थियो ।
उहाँको अस्थि गंगा नदीमा सेलाउन बनारस पुर्याएको बेलामा बनारसमा उठेर आएको नेपाली र भारतीयहरूको त्यो मानव सागर ! बनारस (दुग्ध विनायक) मा बस्नुभएकी हजुरआमालाई भेट्न बीपीको निधन पछि म बनारस गएको थिएँ । वास्तबमा मैले बनारसमा देखें विदेशमा बीपीको प्रभाव । ‘भारतीय प्रोफेसर, वकिल, समाजवादी नेता तथा कार्यकर्ताहरूले “बीपी बाबु अमर रहे ! कोइरालाजी सब के दिल मे है !” जस्ता नारा लगाएर त्यो विशाल जुलूश अस्थि–कलशका साथ गंगाजीको घाटमा पुग्यो । भारतीय नेता चन्द्रशेखर जुलुशमा त आएका थिएनन्, कुनै कार्यक्रमबाट हतारहतार गरी घाटमा आईपुगेका थिए ।