नमिता सुनिता हत्याकाण्डको सम्झना : अन्याय बुढो हुँदैन, न्याय मर्नु हुँदैन !  

बुधबार, साउन १४, २०८२

कोलकाताको प्रतिष्ठित विद्यालयमा अध्ययनरत काठमाडौँका दुई किशोरी १६ वर्षीय नमिता र १८ वर्षे सुनिता गर्मीको छुट्टीमा घर आएको बेला पोखरा घुम्न जाने भए र २०३८ जेठ अन्त्यतिर बसबाट पोखरा पुगे । पोखरा विन्ध्यवासिनी निवासी नातेदार दिदी निरा पराजुली गाईडको रुपमा उनीहरूसँग उतै सामेल भईन् ।
 
प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) कै छेउछाउमा घर छ निजामति सेवाको तत्कालीन प्रतिष्ठित राष्ट्रसेवक, उद्योग वाणिज्य विभागका महानिर्देशक र कोलकातामा नेपालका महावाणिज्यदूत भईसकेका  माधवराज भण्डारीको । उनैका तीनमध्ये माहिली र कान्छी छोरी हुन् यी । जेठी छोरी प्रख्यात अर्थशास्त्री तथा पूर्वमन्त्री डा. यादबप्रसाद पन्तका छोरासँग विहाबारी भयो ।

उनीहरू घुम्दै सेती नदीको बगरमा पुगे । सेतीकै बगर पछाडि नेपाली सेनाको फूलबारी ब्यारेक छ । सेती बगरमा केही अपरिचित युवाहरूले उनीहरूलाई जिस्क्याए । छेडखानी अन्ततः भनाभनमा पुग्यो । त्यसैको भोलीपल्ट जेठ २९ गते नमिताको लाश र सुनिताको लास असार छ गते सेती नदीमा भेटियो । सँगै भएकी नीरा चाहिं बेपत्तै भईन् ।

यो सबै घटनाक्रम नजिकबाट देखिरहेका एउटै पात्र थिए वनपाले चूडामणि अधिकारी । बलात्कारपछि हत्या भएको यो घटना देशभरि फैलियो । कन्चनपुरकी १३ वर्षे किशोरी निर्मलाको बलात्कार र हत्याको आजजस्तै सनसनी मच्चिएको थियो ।

चूडामणिले सब घटना विरण थाहा पाएका छन् भनेपछि स्थानीय प्रहरीले उनलाई बयानका लागि लग्यो । उनी दिनभर प्रहरी कार्यालयमा वयानका लागि पर्खेर बसे तर वयान गराईएन । ५ बजेतिर ‘भोली आउनु’ भनी पठाईयो । भोलीपल्ट उनको पनि लाश सेतीमा फालिएको अवस्थामा पाईयो ।

जनमत संग्रह सकिएर बालिग मताधिकारको आधारमा राष्ट्रिय पञ्चायतको निर्वाचन भएको एक महिना जति पुगेको हुँदो हो । प्रधानमन्त्री सूर्यबहादुर थापा र गृहमन्त्री थिए नैनबहादुर स्वाँर । राष्ट्रिय पञ्चायतमा यो बहसले  उग्र रुप लिएको बेला थियो । गृहमन्त्रीको मौनता अत्यन्त रहस्यमय र सरकारी सल्लाह अनुरुपको हो भन्ने विवाद पनि त्यहींभित्र सुनिन्थ्यो ।

एक दिन गृहमन्त्री स्वाँरले राष्ट्रिय पञ्चायतमा उठेका प्रश्नको जवाफ दिने क्रममा “केनेडीको हत्यारा त पत्ता लागेको थिएन, हत्या हुनेबित्तिकै हत्यारा पत्ता लागिहाल्छ ? क्याऽऽऽ....” भनिदिएर तातो बहसको आगोमा घ्यू खन्याउने काम गरेका थिए ।

अनुसन्धान चल्न थाल्दा भदौतिर तत्कालीन कास्कीका सीडीओ सूर्यबहादुर सेन ओली (आजका माओवादी) लगायत एसपी, डीएस्पी, प्रहरी अधिकृत सबैलाई राजधानीमा ल्याएर हाजीर गराईयो । ज्ञानेन्द्र शाह राजा भएको १० दिनमै उक्त काण्डको फाइल मगाएर सम्पूर्ण अनुसन्धान तथा अभिलेख नष्ट गराए । श्रोत - सामाजिक सञ्जाल 

 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्