सिड्नीमा खिर खाएर साउन पन्ध्र मनाइयो 

शनिबार, साउन १७, २०८२

सिड्नी । साउन पन्ध्रको अवसरमा नेपाली अभिभावक  समाज अष्ट्रल ,अष्ट्रेलियाको आयोजनमा यहि जुलाई ३१ तारिख विहिवार एक कार्यक्रमका गरेर स्वाद  संस्कृति र  समर्पणको  मिठो श्रावण  १५  खिर खाने उत्सव मनाइयो । सिड्नीको अष्ट्रलमा सम्पन्न  सो कार्यक्रम साँसद  Nathan Hagarty  को  प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 


सो अवसरमा बोल्दै  साँसद Nathan Hagarty ले आफ्नो मन्तब्य व्यक्त  गर्दै  अभिभावक  समाजले  सामुदायिक विकास चेतना  एवं समन्वयकारी कार्यको प्रशंशा गर्दै  नेपाली समुदायको हितको  आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे ।  नेपाल  अभिभावक समाज  अष्ट्रलका  अध्यक्ष  चन्द्रकुमार कायस्थको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समाजका सल्लाहाकार  तथा  फेन्का न्यू साउथ  बेल्थका डेपुटि  कोर्डिनेटर मुक्तिराम  पोखरेलले  स्वागत  मन्तव्य  व्यक्त  गर्दै  कार्यक्रमको उद्देश्य  तथा  महत्वका बारेमा आफ्नो बिचार ब्यक्त गरेका थिए ।

 

समाजका सचिव  रमण  खतिवडा  र  सह  कोषाध्यक्ष  केदार  तिमिल्सिनाद्वारा संचालित सो कार्यक्रममा परम्परागत  रितिरिवाज ,सांस्कृतिक  भेषभुषा झल्काउने नृत्य समेत प्रस्तुत गरिएको थियो । खिर खाने सो कार्यक्रममा करिव १ सय ५० जनाको उत्साहाजनक सहभागिता  रहेको  थियो ।

 वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । 'साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ,' उनले भने।

साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ ।यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ ।

सावधानलाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ। नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ।

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्