"कि जोत हलो कि त छोड थलो, यदि होइन भने अब हुनेछैन भलो !...." : सहिद भीमदत्त पन्त

आइतबार, साउन १८, २०८२

किसान सहिद भीमदत्त पन्त (बि.सं. १९८३–२०१०) सुदूरपश्चिममा किसानहरूमाथि भइरहेको चर्को शोषण, भूमिमा चरम अव्यवस्था र चर्को ब्याजदरका ऋण आदि प्रचलनका उग्र विद्रोही, महाकाली अञ्चलको डडेलधूरामा जन्मेका नेता थिए । किसान विद्रोह आवश्यक भएको कुरा त त्यहाँका काँग्रेसका लोकप्रिय नेता स्व. एन्.डी. प्रकाशका लेख–रचनाबाट पनि बुझिन्छ । एन् डी प्रकाश ले पनि किसान जागरणको पक्षमा अनेकौं लेख-रचना तथा गीत लेखेकाे, भाषण गरेको पाईन्छ। डडेलधुरा, डोटी र कञ्चनपुर भीमदत्तको खास कर्मथलो थियो ।

२००७ सालको जनक्रान्तिमा यिनी नेपाली काँग्रेसकै झन्डामुनि रहेर सक्रिय भएका थिए । तर सदस्यता पाएका थिएनन् । यिनी काँग्रेसको सदस्यता लिन काठमाडौँ आएर नेताहरूकहाँ निकै दौडधूप गरे । तर त्यस भेगका अन्य काँग्रेस नेता तथा कार्यकर्ताको सुझाबअनुसार उनको काम गराई निकै उग्र किसिमको हुनेगरेकोले पार्टीको सदस्यता नदिन आग्रह गरेबमोजिम उनले सदस्यता पाएनन् । काठमाडौँबाट फर्केपछि यिनी किसान आन्दोलनमा लागे । भीमदत्तको नेतृत्वमा किसान विद्रोह निकै चर्केपछि २०१० साल असार अन्त्यतिर नेपाली र भारतीय सेनाले संयुक्त अपरेशन चलाउनका लागि तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको अनुमतिमा भारतीय सेना नेपालमा पस्यो । यो कार्य आफ्नो जीवनको एउटा भूल थियो भनी स्व. कोइरालाले मसँगको एक भेटमा भन्नुभएको थियो । त्यो काण्डमा भारतीय फौजले २ जना नेपालीलाई मार्यो । ५० जनालाई घाइते बनायो । २७२ जनालाई पक्राउ गर्यो । तर भीमदत्तलाई पक्रन सकेको थिएन । भारत–उत्तरप्रदेशको बरेलीमा बसेका तत्कालीन नेपाली सेनाका प्रधानसेनापतिले भीमदत्तलाई जिउँदै वा लाश ल्याइदिनेलाई रू. ५ हजार इनाम दिने घोषणा गरेका थिए ।

२०१० साउन २० गते मंगलबार भीमदत्त कञ्चनपुरको गड्डाचौकीतिर पर्ने एउटा गाउँमा पुगे । त्यहाँ कुनै घरमा आफ्ना केही साथीहरूसहित पसेर खानाको लागि आग्रह गर्दा घरपटीेले सहर्ष स्वीकारेको तर इनामको लोभमा उसैले सेनालाई सुराकी दिएर घेरा हाली मारेको भनिन्छ भने कसैले खाना बनाउन अर्डर दिइएका व्यक्ति उनैका भाई थिए पनि भनेका छन् । तत्कालीन सरकारले जंगलमा भएको दोहोरो सशस्त्र भिडन्तमा उनी मारिएको दाबी गरेको देखिन्छ । सोही वर्षको साउन २७ गते भारतीय सेना स्वदेश फर्कियो । सरकारले २०७२ फागुन १९ गते २२ जनालाई शहीद घोषणा गरेको थियो । त्यसमा भीमदत्त पन्तको अतिरिक्त सहिदको मान्यता पाउनेहरुमा दुर्गानन्द झा (धनुषा), रत्नबहादुर बान्तवा (इलाम), ऋषि देवकोटा आजाद (सिन्धुली), क्याप्टेन यज्ञबहादुर थापा (ओखलढुंगा), भीमनारायण श्रेष्ठ (धनकुटा), सूर्यनाथ यादव (सिराहा), हरि नेपाल (ताप्लेजुङ), चन्द्रबहादुर पुरी (संखुवासभा), चन्द्र डांगी (झापा), नेत्र घिमिरे (झापा), रामनाथ दाहाल (झापा), वीरेन्द्र राजवंशी (झापा), कृष्ण कुइँकेल (झापा), नारायणप्रसाद श्रेष्ठ (झापा), राम उपाध्याय (सिराहा), लक्ष्मण उपाध्याय (सिराहा), लीलानाथ दाहाल (ओखलढुंगा), ठगीनाथ दाहाल (ओखलढुंगा), खगेन्द्रराज दाहाल (ओखलढुंगा), गोकर्णबहादुर कार्की (ओखलढुंगा) र शमशेरबहादुर खत्री (गुल्मी) छन । माथि उल्लेखित वाणी, "कि जोत हलो कि त छोड थलो...." कवि महानन्द सापकोटाको कविताको अंश हो । काठमाडौं आएको बेला डिल्लीबजार मा त्यो बेलाको नामुद भीआईपी भेटघाट 'अखडा' 'लप्टनको चिया पसल'मा भेट भईरहने भीमदत्तले यस काव्यांशलाई त्यहींबाट लिएर किसान-नारा बनाएका थिए । उनको बारेमा सिनेमा पनि बनाइएको छ । नवल खड्का, श्रीराम पुडासैनी, निशा अधिकारी, सुमिना घिमिरे आदि कलाकारले खेलेका छन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्