सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
अघिल्लो पुस्ताको पसिना र माटो मिसिएर बनेको एक धरोहर हो मलामी डाँडा। बर, पिंपल र समिका रुखको छायाँ, र वरिपरि फैलिएको उकालो–ओतारोले उसको इतिहासलाई अझै गहिरो बनाएको छ। यो चौतारो सिर्फ यात्रुहरू थकाइ मेट्ने ठाउँ मात्र थिएन, यो त क्रान्तिघोषको प्रतीक पनि हो। मलामी डाँडा यस्तो स्थान हो, जहाँ वरिपरीको सेरोफेरोबाट दृष्टि पुग्ने ठाँउ छ।
त्यो बेला गाउँको हावा नै फरक हुन्थ्यो। बामरी फूलको गन्ध मात्र होइन, त्यहाँ पसिनासँग मिसिएको क्रान्तिको गन्ध थियो। हाम्रो हृदयमा उम्लिरहेको आक्रोश मशालमा दन्किएर उज्यालो देखिन्थ्यो। हामी दृढ विश्वास र क्रान्ति सफलताको आशामा ऊर्जावान भएर रात पर्खन्थ्यौं, किनकि रात हाम्रो साथी थियो, क्रान्ति उद्घोषको लागि। दिनको उज्यालोमा सामन्ती आँखाहरू धेरै हुन्थे, रातको छायामा हामी स्वतन्त्र हुन्थ्यौं।
“जनयुद्ध जिन्दाबाद!” “गणतन्त्र नेपाल जिन्दाबाद!” “सामन्ती राज्यसत्ता मुर्दाबाद!” “जन सरकार जिन्दाबाद!” “महान शहीदहरू जिन्दाबाद!”
यी नाराहरू केवल बोलीका ध्वनि थिएनन्, यी हाम्रो श्वासको लय थिए। हामी बासको कपेटामा थोत्रा कपडाका टालाहरू बाँध्थ्यौं, मिट्टी तेलले भिजाउँथ्यौं, र ती टालाहरू पनि यति मूल्यवान थिए कि आमाले थाहा नपाउने गरी चोर्नुपर्ने हुन्थ्यो। जब रजस्वलाको पीडामा आमा चर्को स्वरमा कराउथिन् “ खै, यहाँ राखेका टालाहरू? तेरो लागि तुच्छ टाला होलान् तर मेरा लागि इज्जत जोगाउने अमूल्य बस्त्र थिए, त्यही पनि लगेर जलाईदीइस हैन? “ र म भन्थें, “हो आमा, ती मूल्यहिन थिएनन्, यी त अँध्यारोमा उज्यालोको स्रोत थिए र स्वतन्त्रताका मानक थिए, तिम्रो रजस्वलामा इज्जत जोगाए जस्तै देशको पीडा सोस्ने प्रतीक थिए।”
रातको अँध्यारो, पाखा–बारीको बासन्ती गन्ध, टाढा कतै कुकुरको भुकाइ, र बीचमा हामी मशाल बोकेका मुटुहरू, अँध्यारो काट्दै उज्यालोको जुलुस निकाल्दथ्यौं। जब हामी मशाल बलाउँथ्यौं, हावाले पनि त्यो ज्वालालाई चुम्थ्यो, जस्तो कि उसले थाहा पाएझैँ, यो केवल प्रकाश होइन, यो अन्यायको अँध्यारो जलाउने हिम्मत हो। रातको चकमन्नतामा मलामी डाँडाको चौतारोमा उज्ज्वल भविष्य र स्वतन्त्रताको अधिकारको सपना बुनेर हामी बस्थ्यौं, दृढ संकल्प मन र मशाल हातमा लिएर।
त्यो चौतारोमा रातको हावा पनि सतर्क हुन्थ्यो, जस्तो उसले थाहा पाएको होस् कि यहाँ बस्नेहरू देशको नक्शा फेरिरहेका छन्। हामी सधैं चनाखो हुन्थ्यौं, कतै बैरीले हमला त गर्ने होइन? आँखा टाढाको बाटोमा बिछ्याएर र कान ठाडो पारेर चालवाजीहरूको निगरानी गर्थ्यौं। हामी दुश्मनले चाल नपाओस् भनेर सासको स्वरमा भलाकुसारी गर्थ्यौं। त्यो मन्त्रणा कुनै रहर मात्र थिएन, उसमा सधैं योजना, चिन्ता, र प्रतिज्ञा गर्जिरहेका हुन्थे।
बुढापाकाहरू भन्थे, टाढाबाट मोदीवेणीमा शव दहन गर्न आउने मलामीहरूको बिश्राम स्थल भएकाले नाम नै मलामी डाँडा भयो रे। साँच्चै नै मानव लीला अन्त्येष्टिका मलामीहरूको बिश्राम स्थल भए जस्तै यो सामन्ती राज्यसत्ता विरुद्धको बिगुल फुक्ने थलो थियो। यो चौतारोले मलामी पठाएको छ, तर मलामी शवको मात्र होइन, अन्याय र अत्याचारको पनि मलामी जन्माएको छ। यहाँ बस्नेहरू थकित पाइला आराम गर्न आएका थिएनन्, यहाँ बस्नेहरू अझ लामो यात्रा तय गर्न निस्केका थिए।
गाउँका केटाकेटीहरू हामीलाई देखेर नारा कण्ठस्थ गर्थे, जसरी बर्खामा वर्षा गीत भलो गाइन्छ। अमा–बुबा टाढाबाट हेर्थे, आँखा डरले ओतप्रोत, तर गर्वको लुकेर नदेखिने मुस्कानसहित, किनकि उनीहरू जान्दथे, हामीले सुरु गरेको बाटो उनकै सपना पुरा गर्ने बाटो हो। त्यसैले त आज त्यो मलामी डाँडा गणतन्त्र नेपालको स्मारक बनेको छ। मान्छे आउँछन्, कसैले पानी पिउँछन्, कसैले स्वच्छ हावा लिन्छन्, कसैले मोबाइलमा समाचार हेर्छन्, गीत सुन्छन्, कसैले टाढासम्मको सेरोफेरो र क्षितिज नियाल्छन्, बिना संकोच, स्वच्छन्द र स्वतन्त्रतामा।
तर यदि तपाईं त्यहाँ बसेर आँखा बन्द गर्नुहुन्छ भने, अझै सुन्न सकिन्छ ढुंगाको छातीबाट उम्लिरहेको विद्रोहको प्रतिध्वनि। माटोको गन्धमा अझै मिसिएको छ मशालको धुवाँ। त्यही चौतारोले मलाई एकदिन भनेजस्तो लाग्छ, “ आगो कहिल्यै मर्दैन, उसलाई समयको हावाले मात्र सुस्त बनाउँछ। जब हावा फेरि बदलिन्छ, म फेरि मशालको उज्यालो देख्नेछु।”
हो, मलाई थाहा छ, एकदिन, कसैले फेरि बासको कपेटामा टालाहरू बाँध्नेछ, मिट्टी तेलमा भिजाउनेछ, र रातको अँध्यारो चिरेर यो चौतारोमा आएर बसी पहिलो नारा गुञ्जाउनेछ “गणतन्त्र नेपाल जिन्दाबाद!” फेरि त्यो दिन, ढुंगाहरू फेरि स्पन्दित हुनेछन्, र मलामी डाँडाको चौतारो फेरि विद्रोहको विश्रामस्थल बन्नेछ। यो डाँडा, यो चौतारो, यो स्मृति, यी सबै मेरो भित्र अझै बाँचिरहेका छन्, र जब आँखा बन्द गर्छु, म फेरि देख्छु, अँध्यारोमा उज्यालो बोक्दै हिँडिरहेको हाम्रो अपराजित यात्रालाई ।