जनैपूर्णिमा बारे थप रोचक सांस्कृतिक परम्परा 

शनिबार, साउन २४, २०८२

काठमाण्डौ ।  जनै पूर्णिमाकै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेको हुनाले यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । नेवार समुदायले यस पर्वलाई ‘गुन्हु पुन्ही’ को रुपमा मनाउँछन् । तराईका दिदीबहिनीहरूले दाजुभाईलाई राखी बन्धन गरी यसै पर्वमा आफ्ना दाजुभाईको शक्ति र सामर्थ्यको कामना गर्दछन् । तान्त्रिक विधिका अनुष्ठानहरूमा धामी–झाँक्रीको दीक्षा लिने र गोसाईंकुण्ड जाने पर्वको रुपमा पनि यसको महत्व छ ।

भविष्य पुराणका अनुसार देवता र असुरहरूबीचको युद्धमा पराजयको परिणामस्वरूप, देवताहरूले राज–पाठ सबै युद्धमा गुमाएपछि पुनः प्राप्त गर्ने इच्छाअनुरुप देवराज इन्द्र, देवताहरूका गुरू बृहस्पतिसँग मद्दत मागेको र गुरु बृहस्पतिले श्रावण महिना पूर्णिमाको सूर्योदयमा रक्षाबन्धन गराई शक्ति प्रदान गरेको हुनाले जनैपूर्णिमाको पर्वमा शास्त्रोक्त महत्व र परम्परा रहिआएको छ ।

आजको दिन खाने विशेष परिकार क्वाँटी हो । 'क्वाँटी' दुईटा शब्दको यौगिक शब्द (Compound word) हो, नेपालभाषाको 'क्वाति' को अपभ्रंश ।  क्वा भन्नाले तातो र ति भनेको झोल । यसर्थ क्वाति वा क्वाँटि भनेको तातो रस हो । भटमास, चना,मुङ, मस्याङ, बोडी, मास, सिमी,  केराउ आदि गेडागुडी को मिश्रणलाई टुसा उम्रिने गरी राखेपछि क्वाटी तयार भयो ।

 पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट, म्याग्दीको नागीबाराही लगायत देशका विभिन्न मन्दिरहरूमा जनैपूर्णिमाको अवसरमा मेला लाग्दछ । 

जनै साधारण धागो होइन, लामो अनुष्ठानका साथ आचार्यहरूले वैदिक मन्त्रोच्चारणका साथ प्रतिष्ठा गरेपछि मात्र जनैले पवित्रता र आध्यात्मिक शक्ति पाउँछ भन्ने वैदिक मान्यता छ । विशेष तरिकाले बाटेर शिखा बनाएपछि मात्र जनै तयार हुन्छ । जनैमा रहने दुईवटा शिखाका ६ डोरामध्ये एउटा शिखाका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाका तीनवटा डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

भारतमा पनि जनै पूर्णिमालाई आ–आफ्नै सांस्कृतिक महत्त्वका साथ मनाउँछन् । उत्तराञ्चलमा श्रावणी, महाराष्ट्रमा नरिवल पूर्णिमा, राजस्थानमा चूडाराखी पर्व, दक्षिण भारतका धेरै राज्यमा 'अवनि अवित्तम’ को रुपमा मनाएको देखिन्छ ।

सरकारले यो पर्वमा दिँदै आएको सार्वजनिक विदा बीचमा हटाएक‍ो थियो, केही वर्षदेखि फेरि सार्वजनिक विदा कायम गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्