सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बीपी : राजा (महेन्द्र) का केही व्यक्तिगत प्रभावका कुराहरू म सम्झन्छु । बाहिर देखाउँदा जे गरे पनि राजाले जहिले पनि मलाई बडो सम्मान गर्थे । घरमा जाँदा बडो गर्वका साथ आफ्ना छोराछोरीहरू, जो दार्जिलिङ्गमा पढ्थे, उनीहरू दार्जिलिङ्गबाट छुट्टीमा आएको बखतमा मलाई बोलाउँथे र आफ्नो छोराछोरीहरूसँग मेरो परिचय गराउँथे । अनि बडामहारानी (रत्न)— एउटा पारिवारिक मित्रजस्ती । सुशीलालाई के हुन्थ्यो भने, चेतना थिई, बिरामी परिराख्थी, उति जान सक्तिनथी । उ नगएमा गुनासो गर्थे, “खोई, सुशीलाजीलाई त तपाईँले ल्याउनुभएन ?” भनेर । कहिलेकहीँ सुशीला जाँदाखेरी रानीले भन्थिन्, “आज कहाँबाट पश्चिमबाट घाम झुल्केछ ? * *
एकचोटी के भयो भने त्यस्तै भेटघाटको मौका थियो क्यार । छोराछोरीहरू आएका थिए । मलाई राजाको टेलिफोन आयो, “आउनुस् आज पार्टी छ मकहाँ । अरु कसैलाई बोलाएको होइन, घरैको मात्र कुरा हो । तपाईँ आउनुहोस्, श्रीमतीजीलाई पनि लिएर आउनुहोस् । अनि बडामहारानी (रत्न) को पनि फोन आयो, “सुशीलाजीलाई पनि मेरो तर्फबाट बोलाउनू । माथि छतमा, गर्मीको बखत थियो । छतमा उनले बस्ने इन्तजाम गरेका थिए । आफ्नै परिवार । उनीहरू काउचमा बसेका थिए । मलाई लिन शेरबहादुर मल्ल गयो तल । अनि सिँढीबाट हामी माथि छतमा आयौँ । छतमा प्रवेश ग¥यौँ हामी, सुशीला अगाडी थिई, म पछि गएँ । अनि ती दुईटा खासखुस गरे, अनि हाँसे, मुस्कुराए । म नजिकै गएँ, प्रणाम गरेँ । “अनि किन सरकारहरू हाँसिबक्सेको हामीहरू आउँदा ?” भनेर मैले सोधेँ । महाराजाधिराजले बडामहारानीलाई भने, ‘भन न, किन हो ।’
“सरकारबाटै हुकुम होस्” भनेर उनले भनिन् । अनि राजाले भने, “हामीहरू अहिले कुरा गरिरहेका थियौँ, तपाईँलाई देख्नेबित्तिकै कि नेपालको प्रधानमन्त्री त यही मान्छे हुनसक्छ, जसले बाहिर पनि प्रतिष्ठा राख्नसक्छ र, देखाउन पनि बाहिर सकिन्छ भने यही मान्छेलाई सकिन्छ भनेर हामीहरू दुईजना कुरा गरिरहेका थियौँ । तपाईँलाई त्यो सिँढीमा देख्नेबित्तिकै हामीले त्यो कुरा गरेको ।” त्यस्तो किसिमको कुरा हुन्थ्यो । अर्काे एउटा ब्यक्तिगत सम्बन्धको कुरा भएको छ । “मेरो एउटा सानो घर बनेको छ, बङ्गलो छ, फेवातालको किनारमा । त्यहाँ तपाईँ जानुप¥यो, मसँगै बस्नुपर्छ अलि दिन मेरो पाहुना भएर” भनेर राजाले भने ।” मैले भने, “मलाई पनि सरकारसँग बस्न मन लागेको छ ।” “तर उहाँलाई पनि”, सुशीलालाई, “लिएर आउनुहोला नि” भनेर उनी त पहिले नै गए । मेरो एउटा कुनै काम थियो, त्यो काम सिध्याएर म आउँला भनेँ । सुशीला जान सकिन, ममात्रै गएँ । कस्तो मान गरेका थिए राजा र रानीले मेरो । “खोई त, सुशीलाजी त आउनुभएन छ, हामीलाई थाहा थियो” भनेर गुनासो गरिन् रानीले । एक दुईजना राजाका नातेदारहरू पनि थिए, मामाहरू । त्यहाँ मेरो विचार पु¥याएका थिए राजा र रानीले । खाने बेलामा राजाले भने, “यो बडामहारानीले बनाएको तपाईँको निम्ति स्पेशल । यो त तपाईँले लिनुभएन ।” त्यसपछि, म पनि रानीले काम गरिरहेको बेलामा भान्सामा फुट्ट पसिदिन्थेँ । “आ– यो स्वास्नीमान्छेहरूको ठाउँमा किन आएको नि” भन्थिन् रानीले । उ पिर्कामा बसिकन एउटी मध्यम वर्गकी स्वास्नीमान्छेले, खास्टो, त्यो पनि धेरै महँगो होइन, ओढिकन तरकारी काट्ने, तरकारी केलाउने गरेको मैले देखेको छु । मैले रानी रत्नलाई त्यस्तो काम गरेको देखेको छु । म बडो, अत्यन्त प्रभावित भएको छु । तिनी कुनै ठस्सावाला होइनन् । अनि “तपाईँलाई कस्तो कुरो मिठो लाग्छ, तपाईँ भन्नुहुन्न” भनेर भन्थिन् । मैले भनेँ, “सरकारबाट जे बक्सिन्छ, त्यो सबै मीठो लाग्छ नि ।” त्यसरी मलाई उनीहरूले सम्मान दिए, सम्मान मात्रै होइन, स्नेह पनि दिए । त्यो एक किसिमको आदर पनि माया पनि दिए । ** ** मैले यहाँ के भन्न खोजेको भने, त्यस स्तरमा कुरा हुन्थ्यो मेरो उनीसँग– व्यक्तिगत स्तरमा । उनले भने, र यो कुरा त उनका बुबाले पनि भनेका थिए, जब म नारायणहिटी दरबारमा पाहुना भएर बसेको थिएँ, “मेरो व्यक्तिगत पाहुना पहिलो तपाईँ हो ।”
यिनले पनि त्यही भने, “मेरो निजी पाहुना तपार्ईँमात्र हो, मेरो कोही निजी पाहुना भएनन् । अरु सबै सरकारी पाहुना भए ।”
मैले रानीको ब्यवहार पनि माथि भनिसकेको छु । त्यहाँ म ५/६ दिन बसेँ । मसँग राम्रो, व्यक्तिगत किसिमको ब्यवहार भएको थियो त्यहाँ। त्यही मलाई के लाग्दछ भने त्यति राम्रो व्यक्तिगत सम्बन्ध हुँदाहुँदै पनि राजाले पछि (पुस १ मा) किन त्यस्तो गरे ? सबैले जिज्ञासा देखाउँछन्,– के हुन्थ्यो त्यसबेला मेरो र राजाको बीचमा ? (बीपीको ‘आत्मबृत्तान्त’ बाट, पृ. २२२ देखि २२५ सम्म) ** ** राजा महेन्द्रकी अर्धाङ्गिनी रत्न बि.सं. १९८५ भदौ ४ गते जुद्ध शम्शेरका छोरा हरि शम्शेर र माता मेघराजकुमारीकी छोरी, उनैको पालामा देशभरि अनाथ र टुहुरा बालबालिकाका निम्ति बालमन्दीरहरूको स्थापना भयो । गर्ल्स् स्काउटको स्थापना, रत्न रेकर्डिङ् संस्थान, रत्नपार्क, रत्न विद्या पदक, रत्नशील्ड हाँजिरी जवाफ प्रतियोगिता, नेपाल बाल संगठन, रत्नश्री साहित्यिक पत्रिका प्रकाशन आदि यिनको नाममा भएका रचनात्मक काम हुन् । अविवाहितकालमा ‘रन्जना शाह’ को नाममा कविता लेख्ने, बगैँचा र फूलबारी लगाउन मनपराउने, भान्सामा काम गर्ने, सिलाई–बुनाई गर्ने, पोखरीमा माछालाई चारो खुवाउनेजस्ता काममा उनको रुचि रहेछ । उनी नारायणहिटी दरबार परिसरभित्र कल्पवास झैँ बाँकी जीवन बिताइरहेकी छन्। सबै कुराको हेरबिचार निर्मल निवासबाटै भइरहेको बुझिन्छ । आज भाद्र ४ गते रानी रत्नराज्यलक्ष्मी शाहको जन्मदिनको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना ।