सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सिड्नी । नेपालीहरुको स्वामित्वमा संचालनमा रहेको निर्माण कम्पनी "मार्की होम "को मुख्य प्रायोजनमा सिड्नीको बरुड पार्कमा भोलिदेखि हुन गैरहेको तिन दिने आध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको बारेमा जानकारी दिने उद्देस्यले यहि अगस्ट २४ तारिख आईतवार सिड्नीमा आयोजित कार्यक्रममा १हजार १ सय २५ जना श्रद्धालुभक्तजनले कलश यात्राका लागि नाम दर्ता गरिसकेको जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष विष्णु हमालले सिड्नी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई धार्मिक, सामाजिक र सांस्कृतिक एकतामा बाँध्ने उद्देश्यले अगाडी बढाईएको यो अभियानलाई सफल बनाउन समुदायको नछुट्ने साथ र बलियो हात हुनुपर्नेमा जोड दिए । उनले हाल करिब ५ मिलियन अष्ट्रेलियन डलर जग्गा तथा पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जानकारी दिँदै समुदायलाई आर्थिक सहयोगमा हातेमालो गर्न आग्रह गरे ।
हमलाका अनुसार केन्द्रसँग आजीवन सदस्यको रुपमा अनुसार केन्द्रसँग ५ सय ७० सदस्य आबद्ध भइसकेका छन् । केन्द्रको लक्ष्य ५ हजार सदस्य पुगेपछि पहिलो चरण अन्तर्गत जमिन खरिद गर्ने र दोस्रो चरणमा सरकारी अनुदानका लागि पहल गरिने छ । सो अवसरमा वाचन शिरोमणि दिनबन्धु पोखरेलले तीन दिनसम्म चल्ने धार्मिक अनुष्ठानमा सिड्नीमा रहेका नेपालीलाई सहभागी हुन आह्वान गरे । उनले महोत्सवलाई “आध्यात्मिक चेतनाको साझा मञ्च” भन्दै महोत्सव मार्फत् सम्पूर्ण समुदायमा शान्ति, मैत्री र सहअस्तित्वको सन्देश फैलिने विश्वास व्यक्त गरे ।
उनले भने, “वैदिक गुरु र बौद्ध गुरुहरूलाई एउटै मञ्चमा ल्याउनु हाम्रो सामाजिक सामञ्जस्यताको प्रतिक हो । यसले नेपाली समुदायको एकता मात्र होइन, अष्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई पनि हाम्रो सहिष्णुता र विविधताको सन्देश दिनेछ ।”
पोखरेलले महोत्सवलाई नयाँ पुस्ताका लागि समेत महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गर्दै भने, “हाम्रो संस्कृति, हाम्रो परम्परा र हाम्रो अध्यात्मिक मूल्यमान्यतामा युवा पुस्ताको सहभागिता बढाउनु आजको आवश्यकता हो । तीज, दशैं, दीपावली जस्तै अध्यात्मिक महोत्सवले उनीहरूलाई आफ्नै पहिचानसँग जोड्ने काम गर्नेछ ।” कार्यक्रममा बिभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।