उपवास स्वस्थ रहने एक उपाय

सोमबार, भदौ ९, २०८२

उपवासको अर्थ संकेतमा दुई शब्द मिलेर बनेको छ । उप अर्थात् नजिक, वासको अर्थ निवास (बस्ने ठाउँ) अर्थात् नजिकै बस्ने । यसको दार्शनिक अर्थ हो– हामी शरीरको मागभन्दा माथि उठेर आफ्नो शरीरभित्रको दैवी शक्तिको नजिक आउन सकूँ ।
आयुर्वेद विज्ञानमा त “मन, आत्मा र शरीर स्वस्थ राख्न उपवासको महत्वपूर्ण भूमिका हुन्छ” भन्ने उल्लेख छ ।
चिकित्सकीय दृष्टिले उपचार गर्नेहरुले ३ दिन, ५ दिन, १० दिन, १५ दिन पनि उपवास गर्छन् ।
हिन्दु धर्मावलम्बीहरु धर्म–परम्पराको हिसाबले विभिन्न विधिबाट उपवास बस्छन् । हरेक महिनामा दुई दिन एकादशीको दिन अन्न नखाई फलफूल, फलफूलको रस, पानी र दूध मात्र खाएर उपवास गर्नेहरु पनि धेरै छन् । तिजको अवसरमा महिलाहरुले निर्जल उपवास बस्ने चलन अहिले पनि छ ।
 हप्ताको कुनै एक दिन कुनै एक देवताको नाममा उपवास बस्ने चलन पनि चलिरहेको छ । 
बौद्ध धर्मावलम्बीहरुमध्ये कतिपयले दिउँसो खाएपछि एकैचोटि भोलिपल्ट मात्र खाने गर्छन् । यो पनि उपवासको एक प्रकार हो ।
 कतिपय ब योगीहरु दिनमा एक छाक मात्र खान्छन् । कतिपयले रोटी मात्र खाएर उपवास गर्छन् । 
दक्षिण भारतमा उपवासको दिन रोटी नखाई भात खान्छन् ।
मुस्लिम धर्मावलम्बीहरु रमादानको बेला एक महिनाभरि बिहान सूर्य उदाएदेखि नअस्ताएसम्म केही खाँदैनन् अर्थात् उपवास गर्छन् । यस्तै गरी कृश्चियन धर्मावलम्बीहरु पनि कुनै न कुनै तरिकाले उपवास बस्छन् ।
दिनदिनै मासु खाने व्यक्तिहरु हप्ताको दुई दिन मासु नखाँदा पनि वर्त बसेको भन्ने गर्छन् । 
केही व्यक्तिहरु उपवासको दिन लसुन, प्याज, गोलभेँडा, नहाली बनाएको सात्विक भोजन ग्रहण गर्दा पनि उपवास (व्रत) बसेको मान्छन् । जुन तरिका अपनाए पनि कुनै न कुनै खाना खान छोड्नु, छाक छोड्नु आदि पनि उपवासकै तरिका मानिन्छ ।
 सामान्यतया विनाभोजन, विनापानी केही समय बस्ने प्रक्रियालाई उपवास भन्ने बुझिन्छ । तर खाना नखाएर मात्रै आफूलाई चिन्न सकिन्छ, शक्ति प्राप्त गर्न सकिन्छ भन्नेचाहिँ होइन । बुद्धले ज्ञान पाउन ४९ दिनसम्म दीर्घ उपवास गरेका थिए । तर उनले ज्ञान प्राप्त गर्न सकेका थिएनन् ।
उनी बेहोस भएर ढल्ने अवस्थामा पुगेकाले सुजाताले उनलाई ‘खिर’ खान दिएपछि उनी स्वस्थ भए र तपस्या गरेपछि बुद्धत्व प्राप्त गरे । यसरी लामो समय व्रत बस्ने विचार बुद्धले त्यागे र ध्यान विधि अपनाए ।
धर्मका नाममा उपवास गर्ने संस्कृतिलाई पहिला अन्धविश्वास र अवैज्ञानिक मानिन्थ्यो भने अहिले
गिरी थरका ३५ वर्षीय एक युवा कुनै संस्थामा सवारी चालक छन् । झन्डै ५ फिट ६ इन्च अग्ला उनलाई माछा–मासु नखाई नहुने बानी थियो । ३२ वर्षको उमेर नपुग्दै भुँडी ठूलो भयो र उनको तौल ८० केजी पुग्यो । उच्च रक्तचाप भएर काम गर्न नै समस्या हुन थाल्यो । चिकित्सकले उनलाई तौल घटाउने सल्लाह दिए । तर यो काम त्यति सजिलो थिएन ।
ती युवकले अनुशासनमा बस्नलाई एक धार्मिक व्रत लिए । रुद्राक्षको माला पनि लगाए । माछा–मासुको सेवन छोडे । ‘रुद्राक्ष लगाउँदा माछा–मासु खानुहुँदैन’ भनेर उनकी बज्यैले भनेकी रहिछिन् । उनले त्यसै गरे । एक महिनामा गिरी नामका ती युवकको ३ किलो तौल कम भयो । उनको भुँडी पनि केही हदसम्म घट्यो । माछा–मासु छोड्दा पहिला त गाह्रो भएको थियो तर ४–५ दिनपछि माछा–मासुको तलतल कम भयो ।
उनी भन्छन्, ‘म अझै तौल घटाउने विचारमा छु । अब शनिबार र बिहीबार मासु खान्न । बाहिर जाँदा पनि नखाने विचार गरेको छु । बेलुका ६–७ बजे नै रोटी, तरकारी र दूध खाएपछि पेट पनि हलुको हुँदो रहेछ । मासु खान छोडेपछि भात पनि कम खाइँदो रहेछ । अहिले मेरो स्वास्थ्य पनि राम्रो भएको छ ।’ उनले  नभने पनि यो एक प्रकारको उपवास नै हो ।
उपवास बस्नु भनेको मन र शरीरलाई अनुशासनमा राख्नु पनि हो ।सबैको लागि उपवास गर्न सहज नहुन पनि सक्छ । यसको लागि पूर्ण ध्यान अनुशासन र दृढ इच्छाशक्ति चाहिन्छ । 
शुरुमा व्रत बस्दा पहिले खाना कम खाने, मासुजन्य पदार्थहरु सकेसम्म नखाने, कुनै दिन तरकारी र फलफूल मात्रै खाने गर्न सकिन्छ । बेलुका ६ बजे खाएपछि भोलिपल्ट बिहान ६ बजेसम्म केही नखाँदा पनि १२ घन्टे उपवास हुन जान्छ ।
यसरी थोरै–थोरै समय बढाएर उपवास बस्दा शरीरको रोगसँग लड्ने शक्ति बढ्छ, कब्जियत सुधार हुन्छ । धेरै काम गरेर पेटको आन्द्रा थाकेको हुन्छ । उपवासले त्यो थकान मेट्छ । 
 अनि हप्तामा एक दिन उपवास किन नबस्ने त ?


डा अरुणा उप्रेती 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्