सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बडादशैंको नवरात्रि आरम्भ हुने आश्विन शुक्ल प्रतिपदाकाे दिनलाई घटस्थापना भनिन्छ । बडादशैं शक्तिको उपासना, शक्ति आर्जन र असत्यमाथि सत्यको विजय हुने विश्वासको महान् चाड हो । आजको दिन जमरा राख्ने र घट (कलश) को स्थापना गरी देवी-देवताको आवाहन गर्ने दुई महत्त्वपूर्ण कार्य सम्पन्न हुन्छ । हिन्दू शास्त्रबमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ ।
पहिलो दिनकै पूजा सम्पन्न भएपछि प्रत्येक दिन बलि अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ ।
घटस्थापनाको दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पछि नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँबाट चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएको र जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।
जमरा राखेको स्थानसँगै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीस्वरूप प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ ।
ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ ।
दशैंको अवसरमा आ-आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गर्नुका साथै देवीका शक्तिपीठहरूमा गई देवी-देवताहरूको पूजा-उपासना तथा दर्शन गर्नु आवश्यक पर्दैन भनिएको छ ।