विश्व प्रकाश, गगन र प्रदिपलाई खुला पत्र- अब पनि चुके अर्को मौका पाउनुहुन्न 

सोमबार, असोज ६, २०८२

म कुनै नौलो कुरा भनिरहेको छैन। यो अहिले अधिकांश नेपालीहरु जो नेपालमा पछिल्लो ३ दशक देखि चलिरहेको  राजनीतिमा परिवर्तन चाहेका छन्, (मनन होस् राजनितीक परिवर्तन होइन), जसले सामाजिक व्यवस्था रअवस्थालाई परिवर्तन गर्न सकोस् भन्ने चाहाना राख्छन्, र जो चटकिय परिवर्तन मा विश्वास गर्दैनन्, जो नेपालमा आक्रान्त पपुलिष्ट पोलिटिक्स, विश्व र क्षत्रिय राजनीतिमा आएका बद्लाव र मुठभेड अनि नेपालको भु-उपस्थिति ले थोपरेको खतरालाई थ‍ोरै बुझेका छन्, ती सवैले पहिला पनि भनेकै र भन्दै आएको कुरा हो। कांग्रेस भित्रका थोरै भएपनि कांग्रेसको खस्केको साख,  कांग्रेसले गुमाउँदै गएको सान्दर्भिकता र मेटदै गएको अस्थित्वसँग चिन्तित सबैले त भन्ने नै भए। हालै भएको जेनजीको प्रदर्शन, प्रदर्शनको क्रममा गुमेका कलिला नानीहरुको जीवन र परिवारको भविष्य अनि  जेनजीको नाँउमा भएको वा गरे गराइएको अकल्पनिय बिध्वंसले निम्त्याएको परिस्थितिमा अब आएर अनिवार्य र तपाइहरुको आफ्नै राजनीतिको लागि पनि अन्तिम अवसर र विकल्प बनेको छ। अब नेतृत्वको लागि होइन, नेतृत्व परिवर्तनको हस्तक्षेप गर्नुस्। यसमा भइरहेको ढिलाइले तपाईंहरुको सान्दर्भिकता र क्षमतामा पनि क्रमश प्रश्न उठ्दै छन्।

मैले पहिला पनि कहिँ प्रसंगमा भनेको थिए। मैले  कांग्रेस सुध्रिनु पर्छ भन्दै गर्दा मेरा एकजना हितैसी साथी जो कांग्रेसले गरेको बारम्बारको गल्ति, नेतृत्वको बहुलठ्ठी पन र युवापुस्ता भनिएकाहरुको अकर्मन्यताबाट, जसमा तपाईहरु पनि पर्नुहुन्छ,  कांग्रेससँग मोह भंग भएर स्वतन्त्र भावना व्यक्त गर्छन, उनले मलाई व्यंगात्मक टिप्पणी गरेका थिए तिम्रो कांग्रेससँग अझै पनि आशा छ साथी? मेरो जवाफ थियो हालको कांग्रेस पार्टी सँग त होइन, तर सिद्दान्तत मेरो राजनीतिक सोचलाई हालसम्म अर्को कुनै पार्टीले, नयाँ भनिएकाले पनि, प्रतिनिधित्व गर्दैन। मेरो बुझाइमा नेपाली समाज, सामाजिक अर्थव्यवस्था र भु-राजनीति अहिले पनि विपिले तत्कालीन समयमा विश्लेषण गरेको भन्दा तात्विकरुपमा फरक छैन। नेपालको राष्ट्रियताको जगेर्ना र समाज विकासको लागि विपि र तत्कालिन कांग्रेसले अँगालेको राजनीतिक आदर्श, प्रजातान्त्रिक मुल्यमान्यता र  समुन्नत समाजको कल्पना नै नेपालको सर्वांगिण विकास को आजसम्म एकमात्र मार्गचित्र हो भन्ने कुरामा म कन्भिन्स छु। त्यहि भएर म सँग कांग्रेससँग आशा गर्नुको विकल्प छैन। 

तर एउटा कुरा के सत्य हो भने तपाईहरुले अहिले पनि हस्तक्षेप गर्नु भएन वा गर्न सक्नुभएन भने, र फेरि  चुक्नु भयो भने त्यो आश सकिन्छ। म `फेरि´ किन भनिरहेको छु भने तपाईहरु पनि बारवार चुक्नु भएको छ। कहिले आफ्नै पदको लोभमा, कहिले हिम्मत नदेखाएर,कहिले निगाहले मलाई नै नेतृत्व आइहाल्छ भनेर आवाज दबाएर। उदाहरणको लागि पछिल्लो मौका भनेको स्थानीय निर्वाचन को बेला थियो। पार्टीले स्थानीय आबस्यकता हेरेर गठवन्धन गर्ने भन्ने निर्णय लाद्यो, मान्नु भयो। तर सिधै र जवर्जस्ति केन्द्रबाटै गठवन्धन लादियो, तपाईंहरु पनि आ- आफ्नो भाग सुरक्षित गर्नेमा केन्द्रित हुनुभयो। प्रदेश र संघको निर्वाचनमा त्यस्तै भयो। सायद शेखर कोइराला र तपाईहरु सँगै भएर सामुहिक विद्रोह गरेको, गर्न सकेको भए, न रवि र रास्वपा  जन्मिन्थे,  न त वालेन न‌ै जन्मिन्थे होलान। सायद केही हदसम्म जेनजीले पनि स्पेस पाउथ्यो होला। तपाईहरुले पनि भोलिको नेतृत्वको लागि आफुलाई केन्द्रमा राख्नु भयो। तपाईहरु चुक्नु भयो। यसले तपाईहरु पार्टी भित्र र बाहिर पनि बोल्ने, हस्तक्षेप वा विद्रोह गर्न कहिल्यै हिम्मत नगर्ने र अन्तिममा आफ्नाे भागको लागि बार्गेनिंग गर्ने जस्तो देखिनु भयो। तपाईहरु बोल्नु भएन त म भन्दिन, पार्टी भित्र  बिद्रोह गर्न सक्नुभएन जसले पार्टीलाई त अधोगतिमा लग्यो नै, राष्ट्रको यो हालत हुनुमा तपाईहरुको असक्षमता पनि कारक बन्यो। 

देशको परिस्थिति विषम छ। देशमा भएको विध्वंसमा जेनजी भाइ बैनाहरु त बहाना मात्र हुन्। यो समग्र समाजको आक्रोश हो। नेपाली कांग्रेसले यो घुसपैठबाट भएको हो भन्नुको अर्थ छैन। होलान त्यस्ता तत्वहरु, भोलि भेद खुल्दै जाला, कानुन अनुसार कार्वाही पनि होला। तर बुझ्नुपर्ने कुरा, र एकदमै मनन गर्नुपर्ने कुरा के हो भने यो समग्रमा हामीले पार्टी भित्र जुन राजनीतिक संस्कार र परिपाटी अबलम्वन गरेका छौं र त्यसको छाया र प्रभाव राज्य संयन्त्रमा जसरी परेको छ, त्यो प्रतिको वितृष्णा र आक्रोश हो। तर यत्रो विध्वंस पछि पनि नेपाली कांग्रेसको नेतृत्व प्रणालीले, यहाँ शेर वहादुर देउवाको मात्र कुरा होइन, जसरी आफुले सच्चिने अन्तिम मौकालाई ग्रहण गर्नु पर्ने हो, पछिल्ला दिनका घटना क्रमले त्यो देखाउदैन। यो सक्किने बाटोमा छ। शेर बहादुर दाइ स्वास्थ्य उपचारमा हुनु हुन्छ शुभकामना। नेपालमा राजनीतिक विकासक्रम यति तिब्रतर भएको छ कि कांग्रेस शेर वहादुर देउवा र आरजु राणा तंग्रिने पर्खाइमा बस्न सक्दैन, बस्नु पनि हुदैन। त्यतिमात्र होइन,   अब पुरानै पार्टी संरचना भित्र पुर्ण वहादुर खड्काले वैठक बोलाउने, नेपाली कांग्रेस सभापति र परिवारमा निर्देशित हमला भएको भनेर कुराकानी टुंगाउने अनि मीन वहादुर विश्वकर्माले आन्दोलनमा भएको घुसपैठ को भ्रत्सना गर्दछ भनेर पार्टी निर्णय सुनाउने यथावत संरचना र प्रकृयाले कांग्रेसले अन्तिम सच्चिने अवसर छोडेर सक्किने बाटो रोजेको देखिन्छ। 

देशलाई यो विषम परिस्थितिवाट बाहिर निकाल्न सुझवुझ सहितको परिपक्व तर युवा जाँगर भएको नेतृत्व आवश्यक छ। जेनजी पुस्ता वा हामी मध्ये धेरैलाई जो दलहरुको कुकृत्यले आक्रोशित छन् लाग्दो होला, दलहरु सबलाई सधैंको लागि राज्यसंयन्त्र बाट बाहिर राख्यो भने देश विकाश हुन्छ। हर्क साम्पांगलाई लागेको छ देश विकास ढुंगा वोकेर हुन्छ। वालेनलाई लागि रहेको छ देश यी सवै पार्टी र नेतालाई  गाली गरेर बन्छ। रविलाई लाग्दैछ देश जेल तोडेर बन्छ। अनि अराजक जत्थालाई लागेको छ देश सवै तोडफोड बाट बन्छ। जेनजी प्रदर्शनबाट चर्चामा आएका सुदन गुरुङलाई लाग्दो हो दुइचार वटा कार्यक्रम गर्यो भने देश बन्छ । तर वास्तविकता धेरै फरक छ। नेपालको समाज, भु-राजनीति र हालको अवस्थावाट देशलाई निकाल्न राजनीति बाट खारिएको तर समाज र पुस्ताको आवेग र आक्रोशलाई बुझ्न सक्ने र त्यही अनुसारको आवश्यक तर निर्मम सुधारको आँट र नेतृत्व गर्न सक्ने नेता अहिलेको आवश्यकता हो। पहिलो  सुधार त देशले यो क्षति बेहोर्नुमा कहिँ न कहिँ हामी पनि दोषी छौ भन्ने महसुस गर्नु र सार्वजनिक रुपमा माफी माग्ने हिम्मत गर्नु नै हो। तपाईंहरुले केही भएपनि त्यो हिम्मत देखाउनु भएको छ। तर कुनै पार्टीका पहिलो दोस्रो वा तेस्रो पुस्ताका कोही पनि नेताहरुमा यो स्विकारोक्ति देखिदैन, म सुधारको गुन्जायस पनि देख्दिन।

त्यसैले तपाईंहरुसँग अन्तिम आशा, अपेक्षा र आग्रह, अब पार्टी भित्र हस्तक्षेप गर्नुस्। सक्नु हुन्न विद्रोह गर्नुहोस्। तपाईंहरु प्रति नागरिक समाज, र थोर बहुत युवा पंक्तिको अझै पनि आशा छ। तर यो सम्झनुहोस् कि समाजले तपाइहरु सँग अझै पनि आशा गरेको छ भन्नुको अर्थ, तपाईहरुलाई अर्को एक मौका दिएको छ, र यो मौका नै तपाईंहरुको लागि अन्तिम मौका हुनेछ। 

बेलैमा हामी सवैमा यथोचित कदम चाल्ने हिम्मत आवोस्, शुभकामना ।
सुरेश पोखरेल 
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्