नेपालका प्रमुख शक्तिपीठहरू

शनिबार, असोज ११, २०८२

दन्तकाली
धरान माथिको होचो डाँडो (प्राचीन किरात कालको राजधानी, विजयपुर)प को रुद्राक्षवनमा सतीदेवीको दन्तपतन भएको स्कन्दपुराण को हिमवत्खण्ड वर्णन छ । त्यसै सन्दर्भसँग जोडिएर दन्तकाली शक्तिपीठ स्थापना भएको मानिन्छ । यहाँ वैदिक र तान्त्रिक विधिअनुसार पूजा गरिन्छ । यस क्षेत्रमा पञ्चकन्या, पिण्डेश्वर बाबा र बूढासुब्बा आदि विभिन्न देवदेवीको मन्दिर पनि छन्।
दक्षिणकाली
काठमाडौंको दक्षिण भागमा अवस्थित प्रसिद्ध दक्षिणकाली भगवतीको प्राचीन शक्तिपीठ छ । हजारौं वर्ष पहिले महाकालीको वाममार्गी पद्धतिबाट पूजा गरिन्थ्यो । प्रतापमल्लले वाणगङ्गा र उद्धारवती नदीको किनारमा मन्दिरको पुनर्निर्माण गराएका अभिलेखहरू छन् । तान्त्रिक लम्बकर्ण भट्टले यस मन्दिरमा पूजाको परम्परालाई व्यवस्थित गरेको अनुश्रुति पाइन्छ । महाकाली शक्तिलाई दक्षिणाम्नाय शक्तिको रूपमा स्थापना गरी मल्ल तथा शाहवंशी राजाहरूले दक्षिणकालीका नामले राज्यको रक्षाका निम्ति कुलदेवीका रूपमा पूजा गर्ने अद्यावधि प्रचलन रहेको छ ।
वागीश्वरी
नेपालगन्ज (बाँके) स्थित ठूलो तलाउको किनारमा, सतीदेवीको जिब्रो पतन भएकोले भगवती वागेश्वरीको नामकरण रहेको मन्दिर छ । यहाँ दसैंमा भक्तजनहरूको ठूलो घुइँचो हुन्छ ।
मनकामना
नेपालको एकीकरण, राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावसँग जोडिएको मन्दिर गोरखा जिल्लाको पवित्र स्थल मनकामना गाविसमा मनकामना शक्तिपीठ छ । दसैंको महाष्टमीका दिन भगवतीको मन्दिरमा विशेष पूजा गरिन्छ । यिनै भगवतीको कृपा र गुरु गोरखनाथको आशिर्वादले पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सफल हुनुभएको इतिहासमा छिन्ताङदेवीे
छिन्ताङदेवी
धन्कुटाको प्रसिद्ध शक्तिपीठ छिन्ताङदेवीमा दसैंको विशेष भीड हुने गर्छ ।
विन्ध्यवासिनी
प्राचीन विन्दुसागर, पुष्करतीर्थको नामबाट शास्त्रमा वर्णित पोखरामा भगवती विन्ध्यवासिनीको सुन्दर मन्दिर रहेको छ । भगवतीलाई विन्दुवासिनी पनि भनेर पूजा गर्ने गरिन्छ । श्रीयन्त्रको मध्यभागमा अवस्थित विन्दुस्वरूपा भगवतीका नामले यिनको पूजा हुने गर्छ । मौद्गल्य गोत्रीय कोइरालाहरूले विन्ध्यवासिनीलाई कुलदेवीको रूपमा पूजा गर्छन् ।
पलाञ्चोक भगवती
 वि.सं. ४२५ मा लिच्छवी राजा मानदेवको पालामा स्वर्णमण्डित गजुरले शोभायमान कलात्मकताले भरिपूर्ण यो शक्तिपीठको स्थापना भएको अभिलेखहरूबाट बोध हुन्छ ।  गर्भगृहमा चौकोश आसनमा अष्टादशभुजा विविध आयुधले युक्त बायाँ खुट्टाले महिषासुरलाई कुल्चिएको स्वरुपमा भगवती पलाञ्चोक रहेकी छन्।
शैलेश्वरी, डोटी
डोटी जिल्ला सिलगढीस्थित, गर्भगृहमा प्रस्तर मूर्तिमा विराजमान  शैलेश्वरी देवी मन्दिरको स्थापना कहिले भएको हो भन्ने कुनै तथ्य फेला परेको छैन । पुराणअनुसार शैलको अर्थ पहाड र ईश्वरी भनेको पहाडकी देवी अथवा शैलपुत्री 'पार्वती' भन्ने बुझिन्छ ।
श्रीश्रीश्री गुह्येश्वरी
स्कन्द पुराणको हिमवत्खण्डअनुसार भगवती सतीदेवीको गुह्यपतन भएको हुनाले काठमाडौंको गुह्येश्वरी शक्तिपीठका रूपमा स्थापित छ । भगवती गुह्येश्वरीलाई लिच्छवि, मल्ल, शाहवंशीय राजपरम्परामा पनि पूजाआराधना र स्तुति गरी जीर्णोद्धार गराएको विभिन्न अभिलेखहरूमा उल्लेख छ ।
पाथीभरा, ताप्लेजुङ   
ताप्लेजुङ जिल्लामा पाथीभरा भगवतीबारे कुनै आध्यात्मिक ग्रन्थहरूमा उल्लेख नगरिए पनि अन्नपूर्णलाई नै पाथीभरा भनिएको बुझिन्छ । नेपालमा यस्ता अनेकौं देवीदेवताका स्थानहरू छन्, जो नेपालीमा नामकरण भएको हुँदा धार्मिक ग्रन्थहरूमा देवीदेवताका ती नामहरू भेटिँदैनन् । अन्न'सँग 'पाथी'को सम्बन्ध भएको र 'पूर्णा' अर्थात् 'भरिएको' अर्थ हुने हुँदा 'अन्नपूर्णा' लाई नै 'पाथीभरा' भनिएको हो । यस्ता तीर्थस्थल वा देवीदेवताका नामहरू शास्त्रमा उल्लेख गर्नुभन्दा पछि फेला परेका अथवा मौलिक नेपाली नामकरण भएका हुनसक्छन् । भगवतीको एक नाम अन्नपूर्णा पनि हो । 
केही अन्य शक्तिपीठ :
नुवाकोटकी जाल्पादेवी, सल्यानकी कमलाक्षी, म्याग्दी गलेश्वरकी गलेश्वरी, सल्यानकी श्री छत्रेश्वरी, दैलेखकी जाल्पादेवी, बैतडीकी देवलहाट भगवती, अछाममा गजरादेवी, बाजुराकी मालिकादेवी, लम्जुङी कालिकादेवी, कालीकोटकी बढीमालिका, डोल्पाकी आदिवाला त्रिपुरासुन्दरी, दैलेखकी ज्वालादेवी, सल्यानकी भुवनेश्वरी देवी, बाग्लुङकी देवी भगवती, इलाम माइपोखरीकी नवदुर्गा पनि दशैंमा भीडभाड र चहलपहल हुने शक्तिपीठ हुन् ।
अर्घाखाँचीकी भगवती, नवलपरासी त्रिवेणीमा अवस्थित भगवती, झापाकी कन्काई भगवती, प्युठान स्वर्गद्वारीकी भगवती, तनहुँ दमौलीकी छाब्दीबाराही, फेवातालकी तालवाराही भगवती, पर्साकी विन्ध्यवासिनी, गाईघाटमा सिंहवाहिनी भगवती, कटारीकी नवदुर्गा भगवती, सप्तरीकी भगवती कंकालिनी, छिन्नमस्ता पनि  ठूलै शक्तिपीठ हुन् ।
 विराटनगरकी भगवती महाकाली, इलाम कर्फाेककी पञ्चकन्या, सोलुकी पञ्चकुमारी, हुलुकी हुलुदेवी, डडेल्धुराकी भगवती उग्रतारा, नवलपरासीकी मौलाकालिका, तानसेन पाल्पाकी भगवती, उपत्यकाभित्र प्रसिद्ध तलेजु भगवती, मैतीदेवी, शोभाभगवती, भद्रकाली, नक्साल भगवती, अन्नपूर्ण, संकटादेवी, बज्रयोगिनी, बज्रवाराही, वत्सलेश्वरी, गोरखकाली, भुवनेश्वरी, त्रिपुरासुन्दरी, महालक्ष्मी, बगलामुखी, विजयेश्वरी, चण्डेश्वरी, कालिञ्चोक भगवती पनि ठूला शक्तिपीठ मानिन्छ।
 तेह्रथुमकी सिहंवाहिनी, वनकाली, जयवागीश्वरी, राजराजेश्वरी, नारायणी, विश्वेश्वरी, मनमैजु भगवती, तुलजा भवानी, भाटभटेनी भगवती, रक्तकाली, श्वेतकाली, ज्वालादेवी, दिग्तुलजा, हारती माता, हरििसद्धि भगवती, ज्ञानेश्वरी, पूर्णचण्डी, स्मशानेश्वरी, अष्टमातृका, धुमावती आदि पर्छन् ।
चन्द्रमणि गौतम 
 

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्