सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपाल प्रतिनिधि काठमाण्डौ । नवनियुक्त जीवित देवी कुमारी आर्यतारा शाक्य आज वसन्तपुरस्थित कुमारी घरमा भित्रिएकी छन् । योसँगै यसअघिकी कुमारी तृष्णा शाक्यलाई विधिवत् रूपमा बिदाइ गरिएको छ । करिब तीन वर्षकी आर्यतारा शाक्य असोज १४ गते मंगलबार काठमाण्डौको नयाँ ‘जीवित देवी’ कुमारीका रूपमा वसन्तपुरस्थित कुमारी घरमा भित्रिएकी छन् । उनी २०७९ पुस २६ गते जन्मिएकी हुन् । काठमाडौंका १८ महाविहारमध्ये शाक्य कूलको निर्धारित लक्षणयुक्त कन्यालाई विधिपूर्वक कुमारी बनाउने परम्परा लिच्छवि कालदेखि चलिआएको हो । कुमारी घरको निर्माण र रथ यात्राको थालनी भने करिब २ सय ७० वर्षअघि अन्तिम मल्लराजा जयप्रकाश मल्लको पालामा भएको हो ।
काठमाडौं उपत्यकामा कुमारी चयनको परम्परा शताब्दीयौँदेखि चलिआएको हाम्रो गौरवपूर्ण संस्कृति हो । तलेजु भवानीको जीवित प्रतीक मानिँदै, शाक्य कुलकी कन्या, जसमा ३२ लक्षण (निष्कलंक दाँत, सुन्दर आँखा, कोमल आवाज, शान्त स्वभाव आदि ) पाइन्छ । कुमारी छनौट गर्दा नेवार शाक्य कुलकै कन्या हुनपर्ने हुन्छ । शाक्य कुलकै भएर मात्र पनि हुँदैन अनेक शुभ लक्षणले सुसम्पन्न भएको हुनुपर्छ । हात र पैतालामा संख, चक्र, पद्म आदि अनेक शुभ चिह्नहरू हुनुपर्छ । हातका सबै औला र पाउका प्रत्यक औला समथल हुन पर्नेहुन्छ । आँखामा अन्य बालबालिका भन्दा फरक र दिव्य तेज हुनपर्दछ । जस्तो सुकै अवस्थामा पनि नडगमगाउने (भय रहित) स्थिर आँखा हुन पर्दछ । गम्भीर दृष्टि हुन पर्दछ, शान्त सौम्य र दिव्य रूप हुन पर्दछ । शरिरको कुनै पनि अङ्गमा चोटपटक दाग आदि हुन हुँदैन र कुमारी भैसकेपश्चात पनि केही गरि चोट लाग्यो घाउ भयो एक थोपा पनि रगत देखिएमा कुमारी परिवर्तन गरिन्छ ।
पैतालामा अविर चन्दन आदि लगाएर भुईमा टेक्दा पाउको स्पस्ट छाप तथा त्यस छापमा कमलको फुल लगायतका शुभ चिह्नहरू देखिन पर्ने हुन्छ। यी सबै लक्षणहरू तलेजु भवानी सङ्ग मिलेको हुने भएर उहाँलाई तलेजु भवानिको साकार रुप मानिन्छ । माथि बताईएका हरेक दैवीक लक्षणले सु-शोभित, सर्वाङ्ग सुन्दर, सर्वगुण सम्पन्न शाक्य कुलमा जन्म लिएकी कन्या कुमारी मात्र कुमारी मजु हुन्छिन् । माथी बताईएका लक्षण करोडौंमा एक कन्यामा मात्र हुने गर्दछ जब यि सबै मिल्दो कन्या भेटिन्छ अनि उहाँलाई कुमारीको रूपमा चयन गरिन्छ। विशेष पूजाआचार र ज्योतिषीय गणना अनुसार देवगणले छनोट पुष्टि गरेपछि मात्रै नयाँ कुमारीलाई दरबारमा बसालिन्छ, जहाँ उहाँलाई देवीको रूपमा पूजिन्छ। कुमारी कुनै साधारण बालिका होइनिन् — उहाँमा देवी तलेजुको साक्षात् स्वरूप बस्छ, जसले सम्पूर्ण नेपालीलाई एउटै माताको माया र आस्थामा बाँध्छ । सबैले आफ्नै धर्म, संस्कृति र पहिचानको रक्षा गर्वका साथ गरौँ ।
कुमारी सम्बन्धी ६ भ्रम र यथार्थ - यस्तो पुरानो परम्परा भए पनि कुमारीबारे समाजमा विभिन्न भ्रमहरू प्रचलित छन् । धेरैलाई लाग्छ, कुमारी भएपछि खेल्न, हाँस्न, रुन पाउँदैनन्, विवाह गर्न पाइँदैन । तर वास्तविकता फरक छ । पहिलो भ्रम कुमारी भएपछि पढ्न पाइँदैन - यो सत्य होइन। कुमारीलाई कुमारी घरभित्रै सरकारी शिक्षकमार्फत नियमित पढाइ हुन्छ । दिउँसो र बेलुकी पढ्ने समय छुट्याइएको हुन्छ । धेरै पूर्वकुमारीले उच्च शिक्षा हासिल गरेका छन् । दोस्रो भ्रम कुमारी भएपछि खेल्न पाइँदैन - यो पनि सत्य होइन । पढाइपछिको फुर्सदको समयमा कुमारी अन्य बालबालिकाझैं खेल्छिन् । कुमारी घरभित्र क्यारम, ब्याडमिन्टन जस्ता खेलकुदको व्यवस्था हुन्छ । तेस्रो भ्रम कुमारीलाई मोबाइल र इन्टरनेट प्रयोग गर्न पाइँदैन - यो पनि ग'लत हो। कुमारीलाई अन्य बालबालिकाजस्तै मोबाइल र इन्टरनेट प्रयोग गर्ने सुविधा दिइएको हुन्छ। फरक केवल त्यत्ति हो कि उनी घरबाहिर निस्कन पाउँदिनन् । चौथो भ्रम कुमारीले आमाबुबा भेट्न पाउँदैनन् - यो पनि झूटो हो । कुमारीका आमाबुबा र आफन्तले आफूलाई मन लाग्दा भेट्न सक्छन्। नवकुमारी आर्यताराका बुबा अनुसार छोरीसँग भेट्न कुनै रोकटोक छैन । पाँचौं भ्रम कुमारीले हाँस्न वा रुन पाइँदैन - यो पनि भ्रम मात्र हो। कुमारीलाई हाँस्न वा रुन कुनै रोकावट छैन । सार्वजनिक अवसरमा देवीको रूपमा बस्दा मात्र उनी गम्भीर देखिन्छिन् । सामान्य समयमा उनीहरू अरू बच्चाजस्तै हाँस्छन् र रुन्छन् । छैठौं भ्रम - कुमारी भएपछि विवाह गर्न पाइँदैन - यो पनि असत्य हो । पूर्वकुमारीहरूले आफ्नो इच्छाअनुसार विवाह गरेका छन् र पारिवारिक जीवन बिताइरहेका छन् । विवाह गर्न नपाइने भन्ने अन्धविश्वास मात्र हो ।