नेपाली सिनेमाको पहिलो खलनायक : उत्तम नेपाली 

आइतबार, पुस २७, २०८२

उत्तम नेपाली को भनेर सोध्दा मलाई धेरै अप्ठ्यारो लाग्छ । 
को भन्ने ? 
उनको परिचय नै छैन । 
कवि भने हुन्छ । गीतकार भने पनि हुन्छ  । कलाकार भने पनि हुन्छ तर परिचय कै क्रममा भन्ने हो भनें बौलाहा भने पनि हुन्छ । 
एउटा यस्तो बौलाहा जो नेपालको कला र कलाकारको निम्ति गज्जब गज्जबको काम गर्न मनपराउँछ । 
एकपटक उहाँले गज्जबले आफ्नो बौलाहापन देखाउनु भयो , काठमान्डूको मध्य बजारमा तिमी र हामी नामक् रेष्टुराँ खोलेर । 
तिमी र हामी  नामक् त्यो रेष्टुराँमा कलाकार लेखक , गायक गायिका आएर खान आउने अनि स्वागत गर्ने हामी अर्थात् अर्का दिलदार कलाकार उत्तम नेपाली । 
अर्थात् अरुलाई उधारो खुवाएर आफ्नो रेष्टुराँ टाट पार्ने एक असफल व्यापारी । तिमी र हामी रेष्टुराँमा नेपालका तन्नम कलाकार खान र पिउन जान्थे जो रेष्टुराँबाट निस्किने बेला उधारोको तरन्नुम गाएर फर्किन्थे । त्यस्ता उधारोका खातैखात भएको घाउको खाटा बोकेर उत्तम नेपाली एकदिन अत्युत्तम घरमा फर्के , त्यो घरको नाउँ हो कार्यशाला जसलाई नेपालभाषामा ज्यासल भनिन्छ । उनको ज्यासल हो , रङ्गको रङ्गशाला जहाँ नन्फिगरेटिभ स्केचमा उनी  हराउँथे । 


उत्तम नेपाली ती महान नेपाली मध्ये हुन् जो राणाकालको अन्त्यमा धन कुम्ल्याएर खाने बेला भारतको लखनऊमा गएर आफ्नो धनसम्पत्ति गुमाएर कला पढ्न गए , कला साहित्य उनको रुचिको विषय बन्यो । 
लखनवी मिजाज बोकेर भारतबाट नेपाल फर्केका उत्तमका धेरै प्रिय साथी मध्ये एक हुन् , शंकर लामिछाने । शंकरले उनको बारेमा लेखेका पनि छन् , ग्रीक माइथोलोजी अनुसार चश्माको उल्टो पिरामिड जस्तो  लाग्ने अनुहार छ उत्तमको । 
उत्तम त्यस्तै थिए , एक पर्फेक्ट एक्टर जस्तै । 
शंकरको सर्वाधिक चर्चित कृति गोधूली संसार को कभर उनैले बनाएका थिए , शंकरका प्रिय उत्तमले । शंकरको एउटै कथा सङ्ग्रह गौँथलीको गुँड को दोस्रो संस्करणको प्रकाशनको तैयारी गर्दै गर्दा मैले  उत्तमदाइलाई कभर बनाइदिन आग्रह गरेँ, उनले गज्जबको डिजाइन बनाइदिए । गोधूली संसार र गौँथलीको गुँड दुइटै किताब मैले मेलैसित उनकै  घरमा पढेको हुनुपर्छ । 
शंकर उनको प्रिय मित्र , मेरो प्रिय लेखक । 
शंकरले दोस्रो विहे गरेपछि पत्नी सुवर्ण श्रेष्ठलाई उत्तम नेपालीकै घरमा भित्र्याएका थिए । 
शंकर वित्दा सबैभन्दा पहिले चिन्ता लिएर अस्पताल  पुग्ने पहिलो व्यक्ति पनि उत्तम नै थिए , कारण शंकर के रोगले वितेका हुन् भन्ने उनलाई चिन्ता थियो । 
जब उनले मेनेन्जाइटिस भनेर थाह पाए , उनी ढुक्क भए । ( यसका पछाडि धेरै कारण छन् , पछि चर्चा गरौँला । ) 
शङ्कर जस्तै उनका अर्का प्रिय मित्र थिए , गायक नारायणगोपाल । नारायणगोपालले आफ्नो नाउँ नारायन लेख्ने उत्तमबाटै सिकेका थिए, ट्य्रू सिग्नेचर स्टाइल । 
मैले उत्तमदाइलाई नारायनदाइ मार्फत् नै चिनेको हो तर नाताले उनी मेरा साथी सुद्यमका पिता हुन् , सुद्यमकी पत्नी सुनीता मानन्धर  नाताले मेरी  बहिनीजस्तै  । सम्बन्ध यतापट्टि धेरै निकट छ तर नारायनदाइले उताबाट  अझै नजीक बनाइदिए । 
म कैयन पटक नारायनदाइको भ्याटभ्याटेमा चढेर उत्तमदाइको घर नर्सरी लेनमा पुगेको छु , त्यो बेलाको व्हाइट हाउसमा । त्यो घरमा सिने नायिका कृष्टि केसीले गोरखापत्र को रमाइलो शुक्रबारको लागि धेरै पटक फोटो शुट गरेकी थिइन् , तिनी उत्तमदाइका छिमेकी पनि हुन् । 
उत्तम दाइ र नारायनदाइका बीच बोलीचालीमा सम्बोधन तँ तँ चल्थ्यो , नेवारीमा । नेवारभाषामा तँ र तपाइँ मात्र दुइट सम्बोधन छन् , तिमी भन्ने सम्बोधन छैन । ई दुईका बीच पनि तिमी को नाता रहेन , सिवाय तिमी र हामी नामक् फ्लप रेस्तराँको पर्खालमा बाहेक । 
उत्तमदाइ , नारायनदाइ सित मैले तिमी र हामी मा ज्वाइन गर्न पाइँन तर असनको गोपालदाइको पर्खालमा टाँसिएर खाने रेष्टुराँमा धेरै पटक जमेको छु , असनको साँढे भनेर नारायनदाइलाई त्यहाँका रैथानेले नामै दिएका  थिए । 
पछि कमिलाछीको हरिचाको पसलमा पनि हामी जोडियौँ रात्रिकालीन शिविरमा । 
उत्तमदाइ रोम्यान्टिक , मोस्ट रोम्यान्टिक मान्छे । उनका गीतमा त्यो भाव देखिन्छ । उनी एकदम एब्स्ट्रैक्ट मान्छे , कति कुरा उनको जुङ्गाको हल्लाइबाट होइन , आँखीभौ हल्लेकोबाट बुझ्नुपर्छ । 
उत्तम नेपाली कर्माचार्य परिवारमा जन्मिएर छुवाछुत , जातिय भेदभाव हट्नु पर्छ भनेर युवाकालमै कर्माचार्य हटाएर नेपाली लेख्न थाले , क्रान्तिकारी चेतना भएको मान्छे पनि हुन् उनी । 
उद्यम, सुद्यम, ममता र प्रकृति उनका चार सन्तान हुन् । नाति नातिना कति भए मलाई थाह छैन तर उनको परिवारप्रतिको उनको प्रेम जगजाहेर छ । 
त्यो समय उनको नेपालका एक चर्चित रेडियोकर्मी महिलासित अफेयरको हल्ला भयो , नाम जोडियो । ती महिलाले आफ्नो थर मै ...... नेपाली पनि जोडिन् । 
समीक्षा साप्ताहिकका प्रधान सम्पादक मदनमणि दीक्षितले ती महिलालाई पात्र बनाएर अखबारको पहिलो पृष्ठमा कार्टुन पनि छापे । त्यो कार्टून निकै चर्चित नै भयो । 
अहिले ती महिला पनि छैनन् , मदनमणि पनि छैनन् , कथाका मूल पात्र उत्तम दाइ पनि छैनन् । 
सन्दर्भतः ती महिलाको नाउँ सुश्री  पारिजात नामक् जीवनीपरक किताबमा पारिजातको विलोमको रुपमा उद्धृत गरिएको छ । त्यतिबेला ती महिला आजको युगको  रवीना देशराज जस्तै थिइन् भन्न सकिन्छ , अनुमान मात्र । 
समीक्षा मा त्यो कार्टून छापिएको बेला सम्भवतया  उत्तम दाइ ती महिलासितै पोखरामा थिए भनेर मत्स्य विकास केन्द्र, पश्मिाञ्चलका उप निर्देशक चेतन काकीले पंक्तिकारलाई  धेरै पटक भनेका थिए  । 
उत्तमदाइ एक कुशल कलाकार , एक कुशल पिता , एक कुशल पति , एक असल मित्र अनि धेरै अर्थमा धेरैका गुरु । 
चित्रकला बाहेक उनको अर्को शौख हो , अभिनय । 
उनले नेपालबाट बनेको पहिलो फिल्म आमा मा खलनायको भूमिका निर्वाह गरेका छन् । उनी एक सफल खलनायकका रुपमा पनि चिनिन्छन् । 
प्रायःले सोध्छन् , उत्तम नेपाली को हो भनेर ? 
म भन्छु , उनी नेपाली चलचित्रका प्रथम खलनायक हुन् । उनको नाममा नेपाली चलचित्र क्षेत्रले उत्तम नेपाली खलनायक पुरस्कार राखिनुपर्छ । अस्ति सिने नायक विश्व बस्नेतले गोपीकृष्ण मुभिज अवार्डमा यहाँ खलनायक पुरस्कार छैन भनेर प्रश्न उठाउँदा कार्यक्रम आयोजकका तर्फबाट सुगरिका केसीले उत्तर दिएकी थिइन् । उत्तरमा उत्तम नै हुनुपर्छ । मात्र उत्तम नेपाली । 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय