नेपालकै गहिरो फोक्सुन्डो तालको वास्तविक आकृति 

बुधबार, असोज २९, २०८२

उत्तर-दक्षिण फैलिएको फोक्सुन्डो ताल वरिपरि धेरै भाग चट्टानले घेरेको छ । दक्षिणतिर जंगल छ । तालको आकारप्रकार हेर्न एकै छेउबाट सकिँदैन । एक छेउबाट अर्को छेउ देखिँदैन ।शे गुम्बा जाने बाटो माथि डाँडामा गएर हेर्दा पनि तालको पूरै भाग देख्न सम्भव छैन । ताललाई स्थानीयहरू फुक्सुम्धो भन्छन् । डोल्पो भाषामा फुक्सुम्धोको अर्थ नेपालीमा त्रिवेणी हुन्छ । यो भनाइअनुसार ताल झन्डै तीनकुने आकारको छ ।दक्षिणतिरको भाग भने लामो र तल्लो टुप्पो केही फैलिएको छ । पर्यटकहरू त्यही तल्लो कुनामा पुगेर तालको पूरै आकारको अवलोकन नगरी फर्कने गर्छन् ।
समुद्री सतहदेखि ३ हजार ६ सय ५० मिटर उचाइमा रहेको फोक्सुन्डो ताल नेपालकै गहिरो मानिन्छ । यसको गहिराइ ६ सय ५० मिटर छ ।ताल अवलोकन गर्नेलाई स्वर्गको टुक्रा अनुभूत हुन्छ ।

No description available.

सदरमुकाम दुनैदेखि ३६ किमि उत्तरमा पर्ने ताल जान दुनैबाट २ दिन पैदल हिँड्नुपर्छ । यसरी कठिन बाटो काटेर फोक्सुन्डो पुग्दा त्यहाँको सुन्दर दृश्यले बाटाका सबै दु:ख भुलिन्छ।उत्तरतिरबाट छाल्फु र ढेवुथान २ ठूला खोलाबाट तालमा पानी प्रवेश गर्छ । यी खोलाको पानी फेन्टा कलरको भयकोले यीनलाइ फेन्टा खोला पनि भनिन्छ। दक्षिणतिर रिग्मो गाउँ नजिकको खोला बनेको खोल्साबाट तालको सफा पानी बाहिरिन्छ ।यसरी तालबाट बाहिरिएको पानी करिब ५ सय मिटर तल पुगेर १ सय ६७ मिटरको फोक्सुन्डो (सुलिगाड) झरना बनेर झर्छ । यो झरनाले फोक्सुन्डो परिसरलाई रमणीय बनाएको छ ।पलमबाट लागेको ठाडो उकालो बाटो फोक्सुन्डो झरनाको सिरानीमा पुगेर तालतर्फ तेर्सो लाग्छ । यो उकालोमा पद यात्रीलाई निकै कठिन महसुस हुन्छ । उकालाको शिरमा पुगेपछि देखिने कञ्चन पानीले बनेको झरना र तालको दृश्य देखिएपछि स्वर्ग पुगेको अनुभव हुन्छ ।
श्रोत -सामाजिक सञ्जाल 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्