आज काग तिहार -  कागको शास्त्रीय स्थान

आइतबार, कात्तिक २, २०८२

सिड्नी । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबार यो पर्व मनाईएको हो ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

 काग वा कौवालाई हिन्दू धर्मशास्त्रमा महत्व दिईएको छ । हिन्दु मान्यताअनुसार व्यक्ति मरेपछि सबभन्दा पहिलो जुनीको रुपमा काग भएर जन्मिन्छ । काकतन्त्र भन्ने विषय आउँछ । वैज्ञानिक भनाई अनुसार प्राकृतिक प्रकोप वा बिपत्ति आउनुभन्दा घन्टौं अगाडि नै कागलाई त्यसबारे थाहा हुन्छ र कराउन थाल्छ ।

पुराणहरूमा कागलाई देवपुत्र मानिएको छ । रामायण अनुसार इन्द्रपुत्र जयन्तले कागको रूप धारण गरेर सीताका खुट्टामा ठुँगेपछि रामले धनु–बाणले सो कागको आँखा फोरिदिएका थिए । जब अवतारी कागले माफी माग्यो, तब रामले उसलाई वरदान दिए मानिसले तिमीलाई खान दिएको भोजन उनीहरूका पितृलाई मिलोस्।

त्यसपछि श्राद्धमा कागलाई खाना खुवाउने परम्परा चल्यो । पितृहरूलाई प्रसन्न र दाहिना राख्नको लागि कागलाई खाना खुवाउने गरिन्छ । श्राद्धमा हामीले दिएको वा त्यताहुँदि पाएको खानेकुरा कागले खायो भने पितृहरूको कृपा हामीमाथि रहेछ र कागहरू भोजन खान आएनन् भने पितृहरू हामीदेखि विमुख वा असन्तुष्ट भएछन् भन्ने बुझिन्छ रे !

काकभुशुण्डि (एक पौराणिक काग) श्रीरामको वालसखा थिए । पन्छीराज गरुडलाई काकभुशुण्डिले रामायण एवं रामचरित्र बारे जानकारी गराएको कुरा पुराणमा वर्णित छ ।

कागलाई उदाहरणको रुपमा प्रयोग गरिएका संस्कृतका नीति श्लोक  
“काकः कृष्णः पिकः कृष्णः कः भेदः पिककाकयो ।                     
वसंत समये प्राप्ते काकः काकः पिकः पिकः ।”

(काग कालो कोइली कालो कसरी भेद जान्ने हो,
वसन्तको आगमनमा बोलीले छुट्याउँछ भेद काग–कोईलीको ।)

काक चेष्टा, बको ध्यानं, स्वान निद्रा तथैव च ।
अल्पहारी, गृहत्यागी, विद्यार्थी पंच लक्षणं ।।

(कागको चेष्टा, बकुल्लाको ध्यान, कुकुरको निद्रा, ठीक्क खाना, घरबाट अलग विद्यार्थी हुनुका यी पाँच लक्षण हुन् ।)

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्