डोल्पाको दुनै बजार - हिमालको छेउको जीवन

बुधबार, कात्तिक १२, २०८२

दुनै बजार, डोल्पा जिल्लाको प्रशासनिक मुख्यालय, समुद्री सतहदेखि करिब २ हजार १ सय  मिटर उचाइमा अवस्थित यो सानो तर ऐतिहासिक बजार, नेपालको एक अद्भुत चित्र हो । यहाँ बिहानको घाम जब फुल्छ, शीतल हावा हल्लिन्छ, र वरिपरिका हिमालहरू सुनौलो किरणले रङ्गिन्छन् — त्यो क्षण आफैंमा एक ध्यान हो, एउटा कविता हो।
हिमाल, नदी र जनजीवनको यस्तो सुमधुर संयोजन संसारकै विरल दृश्य हो ।
डोल्पाको बिहान कुनै साधारण बिहान होइन । यहाँको बिहान भनेको आत्मा ताजा हुने समय हो । थुली भेरी नदीको कलकल बग्ने आवाज, निलो आकाश, पाखाभरि दौडिने बालबालिका, र नजिकैको बुद्ध स्तूपामा घण्टी बजाउँदै ध्यानमा बसेका वृद्धाहरू — यी सबैले “जीवन यति सरल र शान्त पनि हुन सक्छ” भन्ने सन्देश दिन्छ। डोल्पा नेपालका ती केही ठाउँहरू मध्ये एक हो, जहाँ नेपाली र तिब्बती संस्कृतिको सुन्दर संगम पाइन्छ।


दुनै बजारका मान्छेहरूको मुहारमा सादगी छ, बोलिमा मिठास छ, र व्यवहारमा अद्भुत आत्मीयता। यहाँ बौद्ध धर्मका प्राचीन परम्परा र नेपाली पहाडी संस्कृतिको एकता देख्दा मन स्वतः नमस्ते गर्छ । त्यसैले दुनैको बिहानले सधैं सन्देश दिन्छ - “नेपाल विविधतामा सुन्दर छ, र यो विविधता नै हाम्रो परिचय हो।” दुनै बजार केवल प्रशासनिक केन्द्र मात्र होइन, यो भविष्यको पर्यटन र व्यवसायिक केन्द्र बन्न सक्ने सम्भावनाले भरिएको ठाउँ हो।
फोक्सुण्डो तालसम्म पुग्ने यात्राको ढोका यहीँबाट खुल्छ । यदि योजनाबद्ध लगानी, पूर्वाधार र पहुँच विकासमा ध्यान दिइयो भने दुनैले नेपालकै उदीयमान पर्यटन राजधानीको रूप लिन सक्छ । दुनै बजारका बाटोहरू अत्यन्तै मनमोहक छन्, तर हरेक पाइला दृढता र आशाले भरिएको छ । यहाँका मानिसहरूको आत्मा अझै पनि शुद्ध छ, मेहनती छ, र देशको उज्यालो सपनामा विश्वास गर्छ ।  लक्ष्मण कंडेलको  फेसबुकबाट साभार 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्