बेवास्ता गरिएको सञ्जीवनीसरह सितलचिनी

बुधबार, कात्तिक २६, २०८२

सितलचिनीमा मानव शरीरलाई आवश्यक पर्ने बढी किसिमका पोषण तत्व र ४६ किसिमका एन्टी अक्सिडेन्ट पाइने अंग्रेजीमा मोरिन्गा वनस्पतिको वास्ता गरिँदैन।

विज्ञका अनुसार सितलचिनीजस्तो गुण भएको बिरुवा अर्काे पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा पाइने जत्तिकै गुणकारी हुन्छ र अझ कतिले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन यसमा पाउँछन्। गर्भवती आमालाई भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि खान हामी स्वास्थ्यकर्मीले भन्छौँ। सितलचिनी खाउँ र कुपोषणबाट बालबालिकालाई बचाऔँ भन्दैनौँ। किनभने हामीलाई नै थाहा छैन, हामीलाई भान्छा घरका खानेकुराबाट पनि धेरै प्रोटिन पाइन्छ भनेर सिकाइएको छैन । घरको खानेकुराले शरीरमा प्रोटिन पुग्दैन भन्ने विज्ञापनमा विश्वास गर्छौं। अनि बट्टाका प्रोटिन किन्छौँ, घर आँगनको सितलचिनी होइन।

यो वनस्पतिबारे विश्व स्वास्थ्य संगठनले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दै छ। अनुसन्धानबाट पत्ता लागेको छ कि सितलचिनीको पातमा कार्बोहाइट्रेट पनि हुन्छ। अर्थात् यसको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ । यसका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ। एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो यो। तर पौष्टिक उपहार नै अपहेलित छ।

https://www.researchgate.net/.../326473006_Moringa...

यसलाई कतिले त जादुको रूख पनि भन्छन्। सायद यसको पौष्टिकता र औषधीय गुणका कारण अमेरिका र युरोपमा समेत यसको लोकप्रियता बढेकै छ।

अफ्रिकामा पनि यसको प्रयोग गरिन्छ। यसलाई जादुको रूख भनिनुको कारण सायद यसमा धेरै प्रोटिन, गाजरमा भन्दा बढी भिटामिन ए, केरामा भन्दा बढी पोटासियम र दूधमा भन्दा बढी क्याल्सियम भएर हो कि?

यसमा रोगसँग लड्ने शक्ति हुन्छ, आमाको दूध बढाउने तत्व हुन्छ भनेर आयुर्वेदमा लेखिएको छ। केही अनुसन्धानले यसको प्रयोगबाट उच्च रक्तचाप घट्न सक्ने सम्भावना देखाएको छ। यसैले अमेरिकामा त यसको क्याप्सुल र पाउडर नै बनाएर बेचिन्छ।

भिटामिन ‘ए’ को कमीले बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ, अनि राति आँखा नदेख्ने समस्यासँगै झाडा–पखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने गर्छ। यसरी झाडापखाला र श्वासप्रश्वासको समस्या भएपछि बच्चालाई खान मन नलाग्ने, कुपोषण बढ्दै जाने र अन्तमा मृत्यु नै हुन्छ।

सितलचिनीले कुपोषण हुन दिँदैन भने कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि सञ्जीवनीको काम गर्छ। तर हामी धेरैलाई यसको गुण थाहा छैन।

यो वनस्पतिको विशेष गन्ध हुन्छ । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन्। भारत वा नेपालमा यसलाई कसैले मरुङ पनि भन्छन्।

अनि, स्वास्थ्य मन्त्रालयचाहिँ बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधि बाँड्दै हिँड्छ। तर, समुदायलाई करेसा वरिपरि सित्तैमा पाइने सितलचिनी खान भनेर सिकाउँदैन।

सितलचिनी नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा प्रयोग गर्न सकिन्छ। यस्तो वनस्पति पाइने नेपालका बालबालिका कुपोषण हुनु भनेको त घरको आँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनुजस्तै हो।

दक्षिण एसियामा पाइने यो वनस्पति हजारौँ वर्षदेखि घरेलु औषधिका रूपमा प्रयोग हुँदै आएको छ। आयुर्वेदमा यो वनस्पतिले तीन सयजति रोगको उपचार गर्छ भनिएको छ।

भारतको बेंग्लोरमा गरिएको एक अनुसन्धान अनुसार कुपोषित बालबालिकालाई सितलचिनीको पाउडर खानासँगै खुवाउँदा उनीहरूको स्वास्थ्यमा धेरै सुधार भयो।

आफ्ना शिशुलाई र परिवारलाई विभिन्न प्रकारका कुुपोषणबाट बचाउन सितलचिनी प्रयोग गर्न सुरु गर्ने कि? कुपोषणबाट बच्न सरकारको वास्ता नगरेर आफ्नै बारीको वस्तु प्रयोग गरे राम्रो।

नेपालमा बालबालिकालाई कुपोषणबाट बचाउन अनेक कार्यक्रम ल्याइन्छन्, कति प्रपञ्च रचिन्छन्। घरवरिपरि भएका भोजन, बिरुवाको वास्ता नगरेर बालबालिकालाई बाहिरबाट आएका बेलभिटाजस्ता खानेकुरा दिइन्छ। तर, मोरिन्गा अर्थात् सितलचिनीजस्तो वनस्पतिको वास्ता गरिँदैन।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ०७:४५
प्रतिक्रिया दिनुहोस्