SSI SSI
SSI SSI

हामि आँफुले फेर्ने श्वास पनि हाम्रो बसमा छैन 

सोमबार, जेठ ५, २०८२


  जब म बूढो हुनेछु, म एक जीर्ण बूढो मान्छे हुनेछु, के तिमी मसंग केहि समय बस्ने फुर्सद निकाल्न सक्छौ ? राम्रोसंग कानले नसुन्न सक्छु एउटै कुरो दोहोऱ्याएर सुनाउन सक्छौ ? बुढेसकालमा तागत पनि कमजोर हुन्छ, अचानक  मेरो हातबाट तिमिले किनेको शिसाको गिलास खसेर फुट्न सक्छ मलाई गाली नगरी माफ गर्न सक्छौ ?  म स्पष्टसँग देख्न सक्दिनँ, भ्रम र गल्ती हुन सक्छन, मलाई चिच्याएर गाली नगरि बस्न सकौला र ? किनकी यो दुनियामा  बुढा पुराना मानिसहरु सधैं उपेक्षित हुने गर्छन्, किन हो कुन्नी ?
मेरो एउटै बिन्ती आग्रह छ, मैले कान सुनिन भने बहिरो नभन्नु, आँखा देखिन भने अन्धो नभन्नु, म प्रकृतिको नियम अनुसार बुढो भएको हुँ, रहर ले हैन । मेरा दाँत पुरै झरेर जाने छन् , जसका कारण बोली अस्पष्ट सुनिनेछ, के म बोलेको बुझ्ने कोशिष गर्न सकौला र ?  तिमी बच्चामा मुख चलाउँदा बित्तीकै मैले तिम्रो भाषा बुझिहाल्थें । कमजोरीका कारण हिंड्न पनि कठिन हुनेछ, के वाल्यकालमा तिम्लाइ डोऱ्याएको पैंचो तिर्न सक्छौ र ?
 एक दिन अंतिम घडी पनि पक्का आउने छ, म..... सुतेको ओछ्यान मै फोहोरो गर्न बाध्य हुनेछु, कृपया दुर्गन्ध आयो भन्दै टाढा नहुनु, म मरेपछि दिइने सम्मान जिबित रहँदै दिनु, मरेपछि जो इष्टमित्र जम्मा भएर बस्छौ बरु म नमर्दै जम्मा भएर बस्नु, म मरेपछि गरिने प्रशंसा जिउँदो रहँदै गर्नु किनकी म मरेपछि कसले के भन्छौ मैले सुन्दिन,के गर्छौ मैले  देख्दिन । डाँडा माथिको घाम भनेर संझनु र मेरो हात तिम्रो मुट्ठीमा समेटेर राख्नु। जब तिम्ले प्रेमले मेरो हात समाउनेछौ तबसम्म मेरा श्रष्टा पनि मलाइ लिन टुप्लुक्क आइपुगेका हुनेछन् । म तिम्लाई राम्रोसंग बस्नु भन्दै म यहाँबाट बिदा हुनेछु । 

आखिर म मरि हाले भने के  हुन्छ त .....
शंख बजाउँदै गाउँ समाजमा जानकारी दिने होलान, टाढा रहेका छोरा छोरी हरुलाई खबर गर्न कसैले हातमा मोबाईल लिएर बस्ने होलान, कसैले फेसबुक र ह्वाट्सएपमा फोटो टाँसेर "श्रद्धाञ्जली" ब्यक्त गर्ने होलान । टाढा रहेका छोरा छोरी बेफुर्सदका कारण आउन सकिएन भन्ने खबर सुनाउने होलान, घरमा भएका श्रीमती लगायत सन्तान सुँक्कसुँक्क गर्दै सागरसम्म छर्ने बुर्की, टीला, घिउ बाती ठिक्क पारेर दिने होलान । कसैले फोन गरेर सागरमा चाहिने दाउरा र चिया चमेनाको ब्यबस्था गरिरहेका हुनेछन् ।
लास जलिरहेको हुनेछ, कोही घर फर्केर काममा लाग्ने छन भने कोही जलिरहेको लास हेरेर मृतकका राम्रा र नराम्रा काम गन्न थाल्ने छन् ।
घरमा रुवाबास सिद्धिएर अब के खाने के नखाने मेनु हेरेर खानाको बन्दोबस्त तिर लाग्नेछन् , भोलीपल्ट बाटै मृत्युशोकको पिडा कम महशुस गर्न थालिने छ, अनि उस ब्यक्तिको ठाउँमा उसको फोटो राखिने छ ।
अंतिम तिथीमा सबैलाई बोलाएर रोटी खीर मिठाई पकवान खुवाइने छ । अर्को बार्षिकी श्राद्धमा सबै भेट हुने भन्दै सबै बिदा हुनेछन् । चौधौं दिनबाट मर्ने मान्छेको याद आउन पनि छोड्ने छ, छोराछोरी आफ्नै पेशामा ब्यस्त हुनेछन् , नातिनातिनाहरु पार्टी पिकनिक र घुमफिरमा रमाउनेछन् भने श्रीमती टी भी सिरीयल  हेरेर दिन काट्नेछन् , अब बार्षिक श्राद्धमा बाहेक अन्य दिन संझना केही हुने छैन । मृतकको साक्षी फगत फोटो मात्र हुनेछ ।
 जिन्दगीको सच्चाइ यही हो, यहाँ हाम्रा आँखाको आँशु पनि आफ्नो हैन, आँफुले फेर्ने श्वास पनि हाम्रो बसमा छैन । ज्यादा दौडधुप के का लागी ??
श्रोत - सामाजिक सञ्जाल 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०८:१६
प्रतिक्रिया दिनुहोस्