सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सिड्नी । एनआरएन अभियानमा आफ्नो बिशेस पहिचान र स्थान बनाउन सफल एनआरएनए अष्ट्रेलियाको हिजो २६ जुलाई शनिवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी सन्तोष कुँवरको टिम निर्वाचित भएको छ । डिल्लीराम ढकाल प्रमुख निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले शनिवार राति अबेर सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार कुँवरले ६,८३९ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् । अध्यक्ष पदका अन्य प्रत्यासीहरु पर्थका भैरव ढकालले ३हजार ७ सय २७ मत ल्याए भने नर्दन टेरिटोरीका सञ्जीव ढकाल गोर्खालीले २ हजार १ सय २६ मत प्राप्त गरेका छन् । अष्ट्रेलियाभरि दर्ता भएका १६ हजार १ सय २१ मतदातामध्ये १३ हजार ७ सय १ मत खसेको थियो । डेमोक्र्याट पक्षको टिमको नेतृत्व गरेर चुनावी मैदानमा उत्रिएका कुँवरको टिमबाटै एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष ,महासचिव , कोषाध्यक्ष,सचिव र नारि निकुञ्ज राष्ट्रिय संयोजकको पदमा बिजयी हासिल गरेको छ ।
निर्वाचन समितिका अनुसार मेल्बर्नका बबिन मिश्रले ७ हजार २ सय ६१ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भए मेलबर्नलाई कर्म थलो बनाउदै आएका मिश्र एनआरएनए अष्ट्रेलियाको ( २०२३-२०२५) प्रवक्ताको रूपमा कार्यरत छन् । उनका प्रतिस्पर्धी ब्रिसबेनका रमेश पौडेलले ४हजार ६ सय १९ मत प्राप्त गरे । त्यसैगरी महासचिव पदमा क्यानबेराका चुडामणि सापकोटाले ७ हजार ३० मतका साथ बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी सिड्नीका भरतमणि देवकोटाले ३ हजार २ सय ५३ मत प्राप्त गरे र वर्तमान कोषाध्यक्ष अर्जुन गौतमले १ हजार ८ सय १४ मत प्राप्त गरे । निजन चौलागाईले ७ हजार ८७ मतका साथ कोषाध्यक्ष पदमा विजयी भए उनका प्रतिस्पर्धी लुना शिवाकोटीले ४ हजार ७ सय ५६ मत प्राप्त गरिन् । सचिव पदमा सिड्नीका कल्याण खड्काले ७ हजार १ सय ८० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी गणेशराज गौतमले ४ हजार ५ सय २८ मत प्राप्त गरे । यस्तै एनआरएन अष्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिन्जु अधिकारी विजयी भएकी छिन् भने एनआरएन अष्ट्रेलिया युवा संयोजकमा पुकार घिमिरे निर्विरोध भएका थिए । नारी निकुञ्ज अष्ट्रेलियाको उपसंयोजक पदमा प्रतिभा शाह निर्विरोध भएकी छिन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार क्वीन्सल्याण्ड राज्य संयोजक पदमा अतुल खड्कासहितको टिम निर्विरोध निर्वाचित भएको छ भने तास्मानियामा पनि राज्य संयोजक सुजन वाग्ले सहितको टिम नै निर्विरोध भएको छ । यसैगरी अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा ललित मल्ल संयोजक पदमा चुनिएका छन् भने भिक्टोरियामा महादेव धानुक संयोजक पदमा विजयी भएका छन् । नर्दन टेरेटोरीमा त्रिलोचन सापकोटा विजयी भए भने न्यू साउथ वेल्स राज्य संयोजकमा उषा किरण बारिया पोखरेल विजयी भएकी छिन् । साउथ अष्ट्रेलिया संयोजकमा थीरबहादुर गुरुंग विजयी भए । यस्तै वेष्टर्न अष्ट्रेलियामा हरिवंश सञ्जेल सुमन विजयी भएका छन् ।
त्यसैगरी आईसीसी सदस्यका लागि भएको मतदानमा राजेश के सी ,हरिकृष्ण अधिकारी ,सईवल न्यौपाने ,विष्णुप्रसाद तिवारी ,दिपक अधिकारी सुशील पोखरेल ,निराजन पोखरेल ,र दिपक बस्नेत बिजयी भएका छन् । आठ पदमा १५ जनाको उम्मेद्वारी परेको थियो । १६ हजार १ सय २१ मतदातामध्ये १३ हजार ७ सय १ ( ८४.९९ प्रतिशत ) मत खसेको थियो । भेरो भोटिङ्ग मार्फत् सम्पन्न अनलाईन मतदान बिहान ७ बजे देखि साँझ ५ बजेसम्म भएको थियो । प्रमुख निर्वाचन आयुक्त डिल्लीराम ढकालले निर्वाचन सम्पन्न गराउन साथ र सहयोग पुर्याउने सबै प्रति हार्दिक आभार व्यक्त गर्दै निर्वाचन प्रणालीमा सहभागी सबै धन्यबादको पात्र भएको बताए । उनले सामाजिक र कल्याणकारी कार्य गर्न संस्थाले लिएको उद्देस्य र लक्ष प्राप्तिको लागि नवनिर्वाचित समिति ईमान्दारपुर्वक क्रियाशील रहने बिस्वास समेत व्यक्त गरे । चुनावी परिणाम पछि नेपाल न्युजसंग कुरागर्दै नवनिर्वाचित अध्यक्ष कुँवरले संस्थाको गरिमालाई जोगाउदै यसको कार्यक्षेत्र र कार्यशैलीलाई अझ प्रभावकारी र बिस्तार गर्न आफुहरु लाग्ने बताए । उनले एनआरएनए अष्ट्रेलियालाई प्रवासी नेपालीहरुको अभिभावकीय संस्थाको रुपमा स्थापित गराईने बताए । करिव दुई दशक अघि देखि अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाउदै आएका कुँवर यसअघि एनआरएनए अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य संयोजक (२०१७–२०१९), आईसीसी सदस्य (२०१९–२०२१), र ओसियाना क्षेत्रीय उपसंयोजक (२०२१–२०२३) लगायतका पदहरूमा रहेर आफ्नो भूमिका निर्बाह गरि सकेका छन् ।