प्रधानमन्त्री सुशिला कार्की र अध्यक्ष डा बद्री केसीबीच भेटघाट

सोमबार, असोज ६, २०८२

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुर्ननिर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।  संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले सेप्टेम्बर २१ तारिख आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको हो । 


भेटका अवसरमा केसीले विश्वभरिका गैरआवासीय नेपालीहरु नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमकको सहयोगको प्रतिबद्दता जनाए । उनले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपुरणीय क्षतिप्रति दुख व्यक्त गर्दै पुनः निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको उल्लेख गरे । 
सो अवसरमा  प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणको लागि बिदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरिन् ।  प्रधानमन्त्री कार्कीले पुनर्निर्माणको लागि नेपाली र गैरआवासीय नेपालीहरुसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उबताउदै  मुलुकमा आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको संघले जनाएको छ ।  
उक्त भेटमा अध्यक्ष डा केसीले 'एक पटकको नेपाली सदैव नेपाली' भन्ने मुल उद्देश्य अनुरुप संविधान संशोधनमार्फत गैर आवासीय नेपालीहरुलाई वंशजको नागरिकताको निरन्तरता सहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गरेका थिए  । यस्तै आगामी  निर्वाचनमा विदेशमा रहेका नेपालीहरुका लागि मताधिकार सुनिश्चित गर्न समेत अनुरोध गरेका थिए । 
सो अवसरमा  प्रधानमन्त्री कार्कीले संघले उठाउदै आएको नेपाली नागरिकता ,मताधिकार लगायतका  मागलाई बर्तमान सरकारले सकारात्मक रुपमा लिएको तथा आगामी निर्बाचनमा बिदेशमा रहेका नेपाली हरुलाई बिदेशबाटनै मतदान गर्ने व्यवस्था मिलाइने दिईन् । सो भेटमा  महिला उपाध्यक्ष रोजिना प्रधान राई र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको पनि उपस्थिति रहेको संघले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्