एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न 

सोमबार, मंसिर २२, २०८२

काठमाण्डौ ।  गैरआवासीय नेपाली संघ एनआरएनएको डिसेम्बर ७ तारिख आईतवार सम्पन्न स्टेरिङ कमिटीको पहिलो बैठकले एनआरएनएको १२ औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त तोकिएको सो निर्वाचन समितिमा अष्ट्रेलियाका होमनाथ पाण्डे,अमेरिकाका भरत अर्याल, बेलायतका सुरेन्द्र श्रेष्ठ र चिरञ्जीवी ढकाल, मध्यपूर्वका नरेन्द्र भाट र टिबी कार्कीलाई निर्वाचन आयुक्त तोकिएको एनआरएनएले जनाएको छ ।  

बैठकले आगामी महाधिवेशनलाई लक्षित गरेर डिसेम्बर ९ देखि १ महिनाका लागि सदस्यता खुला गर्ने र त्यसका लागि कार्यविधि बनाएर स्टेरिङ कमिटीमा २ दिनभित्र पेस गर्न  महासचिवद्वय बिआर  लामा र गौरीराज जोशीलाई जिम्मा दिइएको छ । एक, दुई वा सो भन्दा बढी एनसीसी भएका देशहरूमा सदस्यता प्रमाणीकरण गर्ने जिम्मा सम्बन्धित एनसीसीका अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि भएको छ ।  
११ सदस्यीय स्टेरिङ कमिटीमा महेशकुमार श्रेष्ठ, डाक्टर बद्री केसी,भवानी ओली ,इन्द्रा बन ,विनोद श्रेष्ठ, बि आर  लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम,विनोद कुँवर र आरके शर्मा रहेका छन् । आइतबार भर्चुअलरुपमा बसको सो बैठकको अध्यक्षता संघका अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसीले  गरेका थिए भने महासचिवद्वय बाबुराम (बीआर) लामा र गौरीराज जोशीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्