कालो चियाको महत्व बुझौ

बुधबार, साउन १४, २०८२

कालो चियालाई डाक्टरले किन महत्व दिन्छन् ?  चियाको चलन इसापूर्व २७३७ मा चीनबाट संसारभरि फैलियो । जापानले छैठौ शताब्दीमा र बेलायतले १७ औँ शताब्दीमा चियाको प्रचलन भित्य्राए । ब्रिटिशहरूले भारतीयलाई चियामा लत् बसाल्न रेल चढेका यात्रुलाई सित्थैमा दूध र चिनीको जोडमा चिया पिलाए, नेपालीहरूले त्यही जाने ।

जङ्गबहादुरका पालामा ब्रिटिशहरूको उपहारका डेडसयजति चियाका बिरुवा इलाममा रोपेर नेपालमा चिया खेतीको श्रीगणेश गरियो । कम प्रोसेस गरिएको खाटी चिया ‘ह्वाइट टी’, ताजापन र उत्पत्तिगत स्वरुपलाई नबिगारी आवश्यकताअनुसार फूल वा फलका बासना मिलाइएको एलर्जी, गठिया (जोर्नी दुख्ने), खराब कोलेस्टोरल नियन्त्रण, पेट र मुटुका समस्यामा लाभदायी ‘ग्रीन टी’, अनुहारको चाउरी, टाटा आदि बुढ्यौलीका चिन्ह दूर गरिदिने चाइनिज टी अर्थात ‘उलोङ् टी’, क्यान्सर प्रतिरोध र मुटुको रोग रोक्न उत्तम भनिएको विशेष किसिमले बनाइएको दूध नहाली पिइने ‘सीटीसी’ चिया (ब्ल्याक टी), जडिबुटी(हरू) को पेय ‘हर्बल टी’, द. अफ्रिकी रातो वनस्पति ‘रूइबस’बाट ‘रूइबस टी’, आदि अनेकौं पेयपदार्थ पाइन्छन् । ‘गुडुची चिया’, ‘याकोन’ वा ‘भुईँ स्याउ’ (ग्राउन्ड एपल) को पात, गुलियो वनस्पती ‘स्टेभिया’को पात, तुलसी र ‘गानोडर्मा’ भनिने ‘काठे च्याउ’ मिलाएर बनाइएको ‘याकोन टी’ पनि हामीकहाँ पाइन्छ ।

अनिद्रा, उच्चरक्तचाप, मधुमेहलगायतका अनेक समस्यामा स्वास्थ्यका लागि याकोन टी उपयोगी मानिन्छ । स्वास्थ्यको लागि ब्लाक टी वा ग्रीन टी उत्तिकै लाभदायक भएको क्यालिफोर्निया विश्वविद्यालयले सन् २००२ मा गरेको अनुसन्धानले सिद्ध गरेको छ । सही चियामा दूध र चिनीजस्ता चिज हाल्नु जरुरी नै छैन, बरु यी चिजले पेटलाई खराबमात्र गर्छ । गुणस्तरीय ब्लाक टी वा ग्रीन टीले तनाब कम गरी मानसिक शान्ति दिन्छ । टाउको दुख्यो भने ब्लाक टीले औषधीको काम गर्छ । ब्लाक टीमा हुने एमिनो एसिड, दिमागको सक्रियता बढाएर सहज अवस्था बन्न सहयोगी हुन्छ, सिक्ने र सिकाउने दक्षता बढाउँछ । चियामा हुने ‘पालीफेनाल्स्’ तत्व ब्याक्टेरियासँग लड्ने, रोग प्रतिरोध क्षमता बढाउने, शरीरको प्रतिरक्षा (इम्युन) प्रणाली, हड्डी मजबुत बनाउने, संक्रमणसँग लड्ने र शरीरलाई जोगाउने हुनाले चियाले पूरा नभए पनि आंशिक रुपमा एन्टिबायोटिकको कामसमेत गर्छ ।

चियामा पाईने फ्लोराईड तत्वले दाँते फोहोर हटाउन र दाँतका अन्य समस्यामा पनि ब्लाक टीले फाइदा पुर्याउने हुँदा गुणस्तरीय तथा बच्चाको टुथपेस्टमा समेत चिया–तत्व हालिन्छ । चीनका नेता आधुनिक ब्रस र टुथपेस्ट लगाएर दाँत माझ्दैनथे, हरियो चियापत्ति चपाएर दाँतमा घुमाउँथे भन्ने पढिएको थियो । नेदरल्याण्ड्स्को ‘नेशनल इन्स्टिच्यूट अफ पब्लिक हेल्थ एन्ड इभायरोन्मेन्ट’को लामो अनुसन्धानले चियामा ‘एन्टीअक्सिडेन्ट’ तत्व हुन्छ जो मुटुको लागि अत्यन्त उपयोगी हुन्छ भनी बतायो । कालो चियाले हानीकारक कोलेस्टोरल कम गरी मुटु र रक्तसञ्चारमा सुविस्ता दिने हुँदा उच्चरक्तचाप पनि नियन्त्रणमा हुने र यसको नियमित सेवनबाट हृदयाघातको जोखिम पनि कम हुन्छ ।

कालो चियाले मधुमेह (डाइबिटिज) रोगमा राहत दिन्छ, भनी डच अनुसन्धान कार्यक्रममा संलग्न डा. केरी रक्स्टनले भनिन् । लाक्किला विश्वविद्यालय, इटलीको अनुसन्धानमा कालो चियाले रक्तनलिकाको सक्रियतामा सुधार हुन्छ भनिएको छ । ब्रिटिश पोषणविज्ञ (न्युट्रिसिस्ट) हरू भन्छन्, दिनमा ४ पटक कालो चिया पिउने महिलाको शरीरमा हृदयरोग बढाउने तत्व ‘अर्थेरोलरोसिस’ नगन्य हुन्छ र मुटुसम्बन्धी कार्यप्रणालीलाई मजबुत बनाउने तत्व ‘फ्लेबोनाइड्स्’ कालो चियामा धेरै पाइने हुनाले हृदयाघात कम हुन्छ। कालो चियाले जिउँदो र सक्रिय भइरहनु पर्ने मानव–कोशिका (सेल) लाई मर्न नदिएर बचाइराख्ने हुनाले डीएन्एलाई खराब हुनबाट जोगाउँछ भन्छन् अनुसन्धाताहरू ।

डीएन्एमा उत्पन्न असन्तुलन र खराबीले क्यान्सर समेत हुनसक्छ । दिनहूँ ३ कप कालो चिया पिउनु स्वास्थ्यका लागि लाभदायक हुने चिकित्सकीय सल्लाह सुनिन्छ । अपरेशन गरेको बिमारीलाई डाक्टरको सल्लाहमा दिइने पहिलो खाना पनि कालो चिया नै हो । तर चियापत्तीका नाममा गुणस्तरहिन, मिसावटयुक्त र नक्कली ‘चियापत्ती’ बाट चैं बच्नुहोला । 

डा. महेन्द्रबहादुर विष्ट, पूर्वमहानिर्देशक, स्वास्थ्य सेवा विभाग

 

 

 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ०७:०५
प्रतिक्रिया दिनुहोस्