सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कमाउन परदेश निस्केपछि मात्रै मैले बाबाको किसान जीवनको असली अर्थ बुझें उहाँको खेत जोत्नु मात्र होइन, त्यो त परिवारको भविष्य जोत्नु, जीवन जोगाउनु र सपना बिना स्वरले जपिरहनु थियो । सानो छँदा मलाई लाग्थ्यो, बाबा किन बिहान सबेरै उठ्छन्? किन उही फाटेको टोपी, उही पुरानो चप्पल, उही लुगा लगाउँछन्? किन कहिल्यै नयाँ वस्त्र, घडी वा आरामको कुरा गर्दैनन् ? म अनभिज्ञ थिएँ कि ती सबै उहाँका त्याग र बलिदान थिए, जसले मेरो जीवन र सपना जोगाइरहेको थियो । हामी निदाएको बेला उहाँ भोकै हलो समातेर खेततिर लाग्नुहुन्थ्यो, हामी खेल्दा घाममा जलीरहनुहुन्थ्यो, हामी खाना छानेर खाने बेला उहाँ थालै नपखाली निदाउनुहुन्थ्यो। म सधैं बाबालाई केवल ‘बुबा’ को रूपमा देख्थें, ‘संघर्ष गर्ने किसान’ को रूपमा कहिल्यै बुझिनँ ।
सानोमा कहिलेकाहीँ बाबासँग खेत गोड्न जान्थें, उहाँ हलो जोत्नुहुन्थ्यो, म खेल्दै गोड्थें । तर उहाँको हातको चिरा र अनुहारको थकाइ कहिल्यै बुझिनँ । उहाँले कहिल्यै आफ्ना कठिनाइ सुनाएर सहानुभूति खोज्नुभएन, न त गुनासो गरेर घरको बोझ सुम्पनुभयो। उहाँ चुपचाप माटो, समय र भविष्य जोत्नुहुन्थ्यो। अहिले म जब आफ्नै कमाइको जीवनमा जिम्मेवारी, खर्च, थकाइ, अपमान र भोलिको चिन्ता भोग्छु, तब बुझ्छु बाबाले खेतमा पसिना बगाउँदा हामी विद्यालय जान्थ्यौं, उहाँले खुट्टाले माटो चिर्नुहुन्थ्यो, हामी किताब चिर्न्थ्यौं। हाम्रो जीवनको बाटो उहाँको त्यागले तयार भएको रहेछ। बाबाको जीवन आफ्ना इच्छालाई मरेर अरूको आवश्यकता पूरा गर्ने यात्रामात्र थियो। खेतमा उब्जनी नभए पनि उहाँको मनमा माया र भरोसा कहिल्यै सकिएन। वर्षा नपर्दा आकाशतिर हेर्दै चिन्ता गर्नुहुन्थ्यो, घामले जलाउँदा परालको छायाँमा पसिना पुछ्नुहुन्थ्यो, तर घर फर्किँदा मुस्कानसहित आउनुहुन्थ्यो। त्यो मुस्कानमा भोक, थकाइ, बोझ, आशा र चिन्ता सबै लुकेको रहन्थ्यो। उहाँको मौनता नै सबैभन्दा गहिरो कविता थियो । आज म परदेशमा छु खल्ती प्रायः खाली, तर टाउकोमा जिम्मेवारीले भरिएको बादल। सम्झन्छु, बाबा पनि यस्तै हुन्थे तर उहाँसँग न फेसबुक थियो, न साथीहरू गुनासो सुन्ने। उहाँसँग माटो मात्र थियो, जसलाई कहिले मौसमले धोका दिन्थ्यो, कहिले बजारले मूल्य मार्थ्यो। तर उहाँका आँखामा हाम्रो भविष्यको आशा कहिल्यै मरेन। उहाँले त्यही माटोमा आफ्नो जीवनको भरोसा रोपिरहनुभयो किनभने त्यो माटो मात्र धर्ती थिएन, त्यो उहाँको सपनाको आधार थियो। बाबा किसान हुनुको अर्थ सुन नबिक्ने तर सुनभन्दा अमूल्य हृदय हुनु हो। त्यो हलो, गोरु, खेत, टोपी सबै आज मेरो आँखामा धर्मग्रन्थजस्तै लाग्छ। उहाँले सम्पत्ति छोड्नुभएन, तर श्रमको संस्कार दिनुभयो । उहाँले आफ्ना सपना पूरा गर्नुभएन, तर मलाई सपना देख्ने बाटो देखाउनुभयो । म जब परदेशमा कमाइको लागि दौडिरहेछु, उहाँको बारीले भित्रबाट बोलाउँछ “छोरा, यो माटोले तिमीलाई बनाएको हो।” म आज जहाँ छु, त्यो उहाँको पसिनाको थोपा थोपा मिलेर बनेको हो । अब थाहा भयो कमाई केवल पैसा होइन, त्यो जिम्मेवारी, त्याग र मायाको हिसाब हो। जुन हिसाब बाबाले जीवनभर बिना लेखाजोखा, बिना पुरस्कार मिलाउँदै जानुभयो। उहाँले कहिल्यै आफूलाई महान ठान्नुभएन, तर उहाँको जीवनले मलाई महानताको अर्थ सिकायो नम्र भएर बाँच्ने, अरूका लागि लड्ने, र मुस्कानमा आँसु लुकाउने कला। बाबा किसान हुनुको गहिरो अर्थ बुझ्न मलाई संसार घुम्न पर्यो, तर अब बुझें जति अगाडि बढे पनि, बाबाले हलोले जोतेको त्यो माटोभन्दा गहिरो ठाउँमा म कहिल्यै पुग्दिनँ । त्यो माटोमा पसिना मात्र होइन, भविष्य रोपिएको थियो। र म त्यही भविष्य हुँ उहाँको खेतमा उम्रिएको, उहाँको सपना भित्र बाँचिरहेको । बाबा आज पनि मभन्दा धेरै ठूलो कमाउने हुनुहुन्छ किनभने उहाँले कमाएको श्रम, माया र त्यागको मूल्य कुनै मुद्राले तोक्न सक्दैन । तोरण गुरूङ ,श्रोत - सामाजिक सञ्जाल