अब यसो गर्दा कसो होला ?

सोमबार, भदौ ९, २०८२

धेरै कार्यालय, संघ-संस्था, राजनैतिक दल, भातृ-भगिनी संगठन आदिले आ-आफ्नो तीज कार्यक्रम मनाएको फोटो, भिडियो सार्वजनिक गरिरहेका छन् ।
महिलाहरू सामान्यतया घर बाहिर निस्केर रमाइलो गर्ने अवसर कम पाउँछन्, अर्थात भनौ त्यो अभ्यास छैन हाम्रो । त्यसैले तीजलाई धेरै महिलाहरुले "आफ्नो समय" (Me Time) को रूपमा लिएका छन्  जुन एकदमै स्वाभाविक र आबश्यक कुरा पनि हो।
यस्ता कार्यक्रमहरुले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरूलाई व्यापारको अवसर मिलेको छ र महिलाहरुको औपचारिक-अनौपचारिक सञ्जालहरु पनि साहेद निर्माण भएकै होलान । मानव जाति सबैको लागि चाहिने तनाब ब्यवस्थापनमा पनि सानो-ठुलो सहयोग त भएकै होला  तर सगँसगै चुरा, पोते, गहना (श्रृंगारका सामाग्री) र पहिरनमा खर्च भएको ठूलो धनराशी विदेशिएको त पक्कै छ ।
अहिले सुनका गहनाको भड्किलो प्रदर्शन पहिलेको तुलनामा कम देख्छु म, जुन परिवर्तनको संकेत हो किनकी सवै वर्ग,समुदाय र परिस्थितिका मान्छेहरुले सम्मानपूर्वक वाँच्ने अधिकार राख्न पाउनु पर्छ । १ दिन मनाउने कार्यक्रमले पनि किन टाउको दुखाएको होला भन्ने प्रश्न पनि आउँन सक्छ तर हरेक राम्रो कुरा गर्नको लागि एउटा अवसर छोप्न सके राम्रो हुन्छ भन्ने लाग्छ मलाई ।
अब चाहिएको परिवर्तन के हो?
• तीजलाई हरेक संस्थाले मनाउनै पर्छ भन्ने सोचबाट बाहिर निस्कौं।
• मनाउनेहरुले रचनात्मक ढंगले मनाऔं। जस्तै नेपाल प्रहरीले भर्खरै  २ दिने ( २०८२ साल भाद्र ५ र ६ गते) महिला प्रहरी सम्मेलन (प्रथम पटक) को आयोजना गरेको छ ।
• राजनिति, सरकारी क्षेत्र एवं निजि क्षेत्रमा महिलाहरुले पाएको भूमिका र योगदान तथा हुनु पर्ने सुधारका कुराहरु शशक्त रुपमा उठाऔ र यस पर्वसँग जोडिएर गरिदै आएका नकरात्मक अभ्यासहरुको पनि (छन् भने) खुलेर बहस गरौ अनि परिवर्तन पनि ।
• महिला सशक्तिकरणको अवसरको रूपमा तीजलाई उपयोग गरौं।
• वर्षभरि उत्कृष्ट कार्य गर्ने  परिवर्तनका संवाहक महिलाको पहिचान गरी सम्मान गरौं।
• राजनिति, सरकारी सेवा तथा निजि लगायतका सबै क्षेत्रहरुमा नयाँ आ.ब.का लागि महिला उत्थानका योजनाहरू सार्वजनिक गरौं किनकी आर्थिक वर्ष पनि श्रावणमै शुरु हुन्छ र तिज पनि प्राय: श्रावण-भाद्रमा नै पर्छ ।
• अघिल्लो वर्षको प्रगति समिक्षा गरौं।
• सचेतना र क्षमता अभिवृद्धि कार्यक्रमहरू तीजसँग जोडौं।
• महिलाहरुले भ्रष्टचार न्यूनिकरणमा उल्लेख भूमिका खेल्न सक्छन्, पहल किन नगर्ने ?
• उद्यमशीलतालाई प्रोत्साहन गरौं।  तीजमा प्रयोग हुने सामग्रीहरू स्वदेशमै उत्पादन गर्न पहल गरौं बा बिकल्प खोजौ । 


तीज कार्यक्रम केवल मनोरन्जनको लागि मात्र होईन, यो धार्मिक पर्व पनि हो साथै यो महिला सशक्तिकरण, प्रेम, एकता, र सांस्कृतिक पहिचानको उत्सव हो। तीजसँग जोडिएका संगितहरुले हाम्रो सांस्कृतिक पहिचानलाई ब्यङ्ग नगरुन । यसलाई अझ रचनात्मक र समावेशी बनाउँदै, "स्वदेशमै कमाऔं, स्वदेशमै रमाऔं" (यो कसैको शब्द भएमा त्यसको अन्यथा बिश्लेषण नगरिदिनु होला )  भन्ने सोचलाई  अघि बढाउँदै, महिला सशक्तिकरणलाई उद्यमशीलता र राष्ट्रिय पहिचानसँग जोड्ने समय आएको छ । सशक्त बनौं, सृजनशील बनौं, र तीजलाई आफ्नो संस्कृति र देशको समृद्धिसँग जोडौं।

गङ्गा पन्त श्रोत  -सामाजिक सञ्जाल 
 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्