सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
हामि के कोलागि घमण्ड गर्छौ ? मान्छे भएर पनि मान्छेको पीडा नबुझ्ने हृदय छ हामि भित्र । सधै अरुको लागि बाच्छौ । मानिस जन्मिँदा हात खाली जन्मन्छ र मर्दा पनि हात खालीमै जान्छ । तर जन्म र मृत्युबीचको यात्रामा भने हामी आफूलाई ठूलो ठान्छौं, घमण्ड गर्छौं, अरूलाई दबाउँछौं । रिसको ज्वालामा अरूलाई जलाउँछौं, डाहाले अरूको सफलता सहन सक्दैनौं, घृणाले मानिसबीच दूरी बनाउँछौं। "मभन्दा जान्ने कोही छैन" भन्ने अहंकारमा कमजोरलाई पेल्छौं, न्यायलाई किन्छौं, सत्यलाई झूटमा बदल्छौं । अरूको खुशी देख्दा भित्रभित्रै पोलिन्छौं, अरूको धर्म, जात वा लिंग हेरेर घृणा गर्छौं। अरूलाई सानो ठान्छौं, असफल बनाउने षड्यन्त्र गर्छौं, विश्वास तोड्छौं, धोका दिन्छौं । लोभ र स्वार्थका लागि अरूको पीडा बिर्सन्छौं, आफ्नै फाइदामा अरूको कमजोरी प्रयोग गर्छौं । अरूलाई शारीरिक वा मानसिक यातना दिन्छौं, पछाडि निन्दा गर्छौं, अभिभावक र बुढाबुढी,अशक्तलाई हेला गर्छौं। जात, धर्म, वर्ग र लिंगका आधारमा विभेद गर्छौं। अनि पनि गर्व गर्छौं—मान्छे भएर पनि मान्छेको पीडा नबुझ्ने हाम्रो हृदयमाथि। तर सोचौं त, जन्म हाम्रो इच्छाले भएको हो र ? होइन—आमा–बुबाको कृपा र भगवानको निर्णयले हामी यो संसारमा आएका हौँ । नाम पनि हामीले बनाएका होइनौं, अरूले राखिदिएका हुन्। पढ्न–लेख्न सिकाउने आमाबुबा र शिक्षक हुन्। रोजगारी, अवसर र प्रतिष्ठा पनि अरूकै सहारामा हामीले प्राप्त गर्छौ । तब प्रश्न उठ्छ—हामीसँग आफ्नो भन्नु के छ ? जीवनमा रोग लाग्दा थाहा हुन्छ—शरीर पनि आफ्नै होइन रहेछ ,जिन्दगि भरि कमाएको पैसासग पिडा साट्न सकिन्न रहेछ । बिरामी पर्दा औषधि अरूले नै खुवाउँछन्, उपचार अरूलेनै गर्छन् । मृत्यु नजिकिँदा झन् प्रष्ट हुन्छ,हामीसँग बाकि केही छैन। मरेपछि शरीरलाई नुहाइधुवाइ गर्ने पनि अरू नै हुन्छन्। काँधमा बोकेर चितासम्म पुर्याउने पनि अरू हुन्छन । आफ्नै शरीरलाई समेत सम्हाल्न नसक्ने हामी किन यति घमण्ड गर्छौं ?जिन्दगीभर पसिना बगाएर कमाएको सम्पत्ति पनि अन्ततः आफ्नै हातमा रहँदैन। ‘मेरो’ भन्दै साँचिएको सम्पत्ति अन्ततः ‘अरूको’ हुन्छ। कोही छोरा–छोरी, कोही नातेदार वा अरूले बाँडेर लैजाने छन् । समुद्रमा जति चिनी खन्याए पनि कहिल्यै गुलियो नहुने जस्तै, मतलबी मानिसलाई कति माया वा सेवा दिए पनि उनीहरू आफ्ना हुँदैनन् । उनीहरूको मन सधैं अरूकै लागि बाँचिरहेको हुन्छ। तब सोधौं—किन हामी निरर्थक गर्व गर्छौं ? साँचो घमण्ड गर्नु पर्ने कुरा धन, रूप, पद वा प्रतिष्ठा होइन। ती त क्षणिक हुन्, आज छन् भोलि छैनन्। साँचो सम्पत्ति त माया, सद्भाव र सदाचार हो। हामीले बाँडेको प्रेम, देखाएको सहानुभूति, गरेको सत्कर्म मात्र हो, जुन हाम्रो मृत्युपछि पनि बाँचिरहन्छ। जब नाम सदाचारसँग जोडिन्छ, त्यतिबेला मात्रै मानिसहरू मृत्युपछि पनि सम्झन्छन्। त्यसैले, कम्तीमा यति गर्ने हिम्मत त राखौँ—सबैप्रति करुणा र दया देखाऔं। सत्य बोलौँ, वचनमा दृढ रहौँ। घमण्ड नगरी सबैलाई सम्मान गरौँ। परिवार, समाज र सम्पूर्ण प्राणीप्रति निःस्वार्थ प्रेम बाँडौँ। संकटमा परेका हातलाई थामौँ। अपमान सहँदा विवेकले उत्तर दिऊँ। अरूको गल्ती क्षमा गरौँ। फरक विचारलाई स्वीकार गरौँ। समय र अनुशासनमा दृढ रहौँ। जीवनमा पाएको सहयोगको मूल्य बुझौँ। अन्यायविरुद्ध आवाज उठाऔँ। सम्पत्ति, समय र ज्ञान अरूसँग बाँडौँ। मीठो वचन बोलौँ। कठिनाइमा पनि आशा को किरण बनौ । त्यसैले प्रिय मित्र, अहंकार होइन, नम्रता धारण गरौँ। घमण्ड होइन, प्रेम बाँडौँ। जीवनको सुरु र अन्त्य दुवै अरूकै सहारामा हुन्छ भन्ने कुरा बुझ्न सके मात्र हामी वास्तवमै मानव कहलिन सक्छौँ। हाम्रो आफ्नै भन्नु के छ ? हामीले छोडेर जाने राम्रो कर्म र सत्कर्म मात्र हो । बाँकी सबै अरूको हो। त्यसैले अब सोचौँ—किन घमण्ड ? स्रोत -सामाजिक सञ्जाल (लक्ष्मी प्रसाद आचार्य फेसबुक)