सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
भक्तपुर । भक्तपुरको मध्यभागमा उभिएको न्यातापोल मन्दिर नेपालकै सर्वोत्कृष्ट र सर्वाधिक अग्लो नेपाली शैलीको (प्यागोडा शैलीको) मन्दिर हो। यसलाई तत्कालीन भक्तपुरका राजा भुपतिन्द्र मल्लले ने.सं. ८२२ मा निर्माण गराएका थिए। राजा स्वयंले पनि इँटा बोकेर जनश्रमदानमा सहभागी भएको यस मन्दिरले सामूहिक श्रम, कला र आस्थाको अद्वितीय उदाहरण प्रस्तुत गर्दछ ।
केवल छ महिनामा सम्पन्न यो विशाल मन्दिर पाँचतले र पाँचवटा पेटी सहित १०८ फिट (३३.२३ मिटर) अग्लो छ। यसको छाना टुँडालहरूले थामेका छन् र सम्पूर्ण संरचना कुनै पनि किलाकाटी प्रयोग नगरी जडान गरिएको छ। यसको बलियो आधारका लागि ५ फिट ३ इन्च मोटाई भएको गाह्रो प्रयोग गरिएको थियो।
निर्माणका लागि १,१३,५३५ वटा इँटा, १,०२,०३५ वटा तेलिया इँटा र २७,०८४ वटा उपा (सामग्री) प्रयोग भएको थियो। छानामा ५२९ वटा फय्ःगं जडान गरिएका छन्, जसको संख्या क्रमशः ४८, ८०, १०४, १२८ र १६८ राखिएको छ। एउटा घण्टीलाई अशुभ मानिने भएकाले अझै बजाइँदैन, कारण बजाए ठूलो हावाहुरी र वर्षा पर्ने लोककथा प्रचलित छ।
यस मन्दिरको गजुर ४० धार्नीको छ, जसमा ३७ तोला सुनको जलप जडान गरिएको छ। भित्र एउटा ढुंगामा कलात्मक सिद्धीलक्ष्मीको मूर्ति स्थापित गरिएको छ। सम्पूर्ण मन्दिर काष्ठ, इँटा र प्रस्तरकलाले सुसज्जित भएकाले यो भव्य र अनुपम देखिन्छ।
न्यातापोल नेपालको इतिहासमै पहिलो मन्दिर हो जसको नक्सा बनाई निर्माण गरिएको थियो। यसको निर्माणमा पारदर्शिता कायम राखिएकाले न्यातापोल आज पनि “सपाट हिसाबकिताब”को प्रतीक मानिन्छ।
राजा भुपतिन्द्र मल्लले निर्माण सम्पन्न भएपछि तीन पुरोहितलाई स्वर्णमुकुट प्रदान गरेका थिए, जसलाई आज पनि कर्माचार्य पण्डितले सुरक्षित राखेका छन्। मन्दिरको सम्पन्नता पछि लगभग २०,००० जनतालाई भव्य भोज (तःभ्वय्) खुवाइएको उल्लेख पाइन्छ।
यसरी, न्यातापोल केवल भक्तपुरको गौरव मात्र होइन, समूहिक श्रम, पारदर्शिता, कला र धर्मको उत्कृष्ट ऐतिहासिक धरोहर बनेको छ, जसले नेपालको वास्तुकला र संस्कृतिलाई आज पनि विश्वसामु उजागर गरिरहेको छ। श्रोत - सामाजिक सञ्जाल