सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
जापानमा विद्यालय बिहान साढे ८ बजेबाट शुरू हुन्छ । तर शिक्षक ७ बजे नै पुगिसक्छन् । डेस्क - बेन्च मिलेको छ छैन, हेर्ने र मिलाउने शिक्षकले नै गर्छन् । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छन् । जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन् । यसमा शिक्षकहरू साथमा हुन्छन् । सर-सफाइका लागि ४/५ जना विद्यार्थीको फरक-फरक समूह बनाइएको हुन्छ । शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ । यो पनि शिक्षाकै अंग हो ।
कोही विद्यार्थी पढाइमा कमजोर भएमा कुन विषयमा किन कमजोर भए भनेर विषयगत शिक्षकहरूबीच छलफल हुन्छ । त्यसपछि मात्र कमजोर विद्यार्थीलाई कसरी माथि उठाउन सकिन्छ भनेर योजना बनाइन्छ । कक्षा शिक्षकले हाजिरी गर्दा हरेक विद्यार्थीको मुहार ध्यानपूर्वक हेर्ने गर्छन् । उनीहरूको अनुहार उज्यालो छ कि अँध्यारो छ नियाल्ने गरिन्छ । यदि कसैको अनुहार अँध्यारो छ भने सञ्चो भएन कि भनेर सोध्छन् । अरू नै केही समस्या भए अभिभावकलाई सोध्छन् र समाधानको प्रयास गर्छन् । यसो गरिएन भने समस्या ठूलो हुँदै जान्छ । त्यसले अनेक असर निम्त्याउन सक्छ । त्यही दिन समस्या सल्टियो भने उसको त्यो दिन राम्ररी बित्छ र त्यस दिनको उसको पढाइ पनि राम्रो हुन्छ ।
विद्यार्थीले किताब मात्रै पढ्न मन पराउँदैनन् । त्यसैले उनीहरूलाई कक्षाकोठा बाहिर लैजाने गरिन्छ । विभिन्न क्रियाकलाप गराइन्छ । विद्यार्थीलाई नियमित रूपमा संगीत, कला र खेलमा सहभागी गराइन्छ । यसबाट विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिन्छ ।
जस्तो, खेलमा हार-जीत हुन सक्छ । यसैकारण झगडा हुन सक्छ । तर ‘खेल भनेको सबैको लागि खेल्ने हो, देशको लागि खेल्ने हो' भनेर बुझउन सकिए उनीहरूलाई अनुशासन सिकाउन सकिन्छ । जापानमा बच्चाबेलादेखि नै जिम्मेवार बन्न सिकाइन्छ । शिक्षकले उनीहरूलाई आफ्नो लागि मात्र होइन आफ्नो वरपर, समाज र देशको लागि काम गर्नपर्छ भनेर सिकाइरहेको हुन्छन् ।
विद्यालय तहको पढाइ पूरा हुँदा उनीहरूमा आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने क्षमता, न्याय, इच्छाशक्ति र समाजमा मिलेर बस्ने सीप विकास भईसकेको हुन्छ ।
हरेक सोमवार नैतिक शिक्षाको पढाइ हुन्छ । यसमा यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर शिक्षकले अर्ति उपदेश दिने भन्दा पनि शिक्षक विद्यार्थीबीच छलफल हुन्छ । उनीहरुलाई कहिले कुनै किताब पढ्न त कहिले कुनै विषयवस्तुमा छलफल गर्न दिइन्छ । जस्तो, फोहोर जहाँ पायो त्यहीं फाल्नुहुन्छ कि हुँदैन, कक्षामा समयमा आउनुपर्छ कि पर्दैन, म्यूजियम वा कतै जाँदा हल्ला गर्नुहुन्छ कि हुँदैन आदि जस्ता विषयमा छलफलपछि विद्यार्थी आफैं निष्कर्ष निकाल्छन् ।
विद्यालयमा अङ्ग्रेजी भाषाको पढाइ हुन्छ । तर, गणित, विज्ञान, सामाजिक शिक्षा लगायत विषय जापानी भाषामा पढाइ हुन्छ । सानै कक्षादेखि विद्यार्थीलाई श्रम र कामको महत्व बुझाउन व्यावसायिक सीप पनि सिकाइन्छ । सिलाइ, बुनाइ, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन तालिम दिइन्छ । माध्यमिक तहका विद्यार्थी त कम्पनीमा गएर इन्टर्नसिप समेत गरेर पारिश्रमिक प्राप्त गर्छन् ।
जापानमा शिक्षकको सेवा-सुविधा राम्रो छ । घरपायक भन्दा अन्यत्र गएर काम गर्नु पर्यो भने आधा घरभाडा थप पाउँछन् । पेन्सन पनि राम्रो छ । शिक्षकका विभिन्नखाले समस्या वा दुःख हुन सक्छन् । तर पनि विद्यार्थीलाई माया गर्नुपर्छ । सम्मान दिनुपर्छ । उनीहरुको जीवनमा खुशी र सुख होस्, बच्चा राम्रो हुन् र देश राम्रो होस् भन्ने उद्देश्य हुनुपर्छ । विद्यार्थीले शिक्षकलाई हेरेर पढिरहेको हुन्छ । शिक्षक राम्रो भएन भने विद्यार्थी राम्रो हुँदैन । राम्रो विद्यार्थी बनाउन शिक्षकले मिहिनेत गर्नुपर्छ । एक जापानी शिक्षकको हेराइमा शिक्षण पेशा ।
स्रोत: शिक्षक मासिक पत्रिका