सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कम्बोडियामा रहेको करिब ९०० बर्ष अघि निर्माण गरिएको विश्वको सबैभन्दा ठूलो हिन्दू मन्दिर ‘अङ्कोरवाट’ बारे रोचक तथ्य यस्तो छ । अङ्कोरवाट मन्दिरलाई विश्वको सबैभन्दा ठूलो धार्मिक स्मारक मानिन्छ।गिनिज वर्ल्ड रेकर्डमा समेत यो मन्दिर विश्वको सबैभन्दा ठूलो धार्मिक स्थलको रुपमा रेकर्ड रहेको छ । यो मन्दिर युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ।
अङ्कोरवाट मन्दिर १ सय ६२ हेक्टर क्षेत्रफलमा फैलिएको अङ्कोरवाट मन्दिर खमेर राजा सूर्यवर्मन द्धितियले करिब १११३-११५० ई.बीच निर्माण गराएका थिए । प्रायःहिन्दू मन्दिरहरु पूर्वतिर फर्किएका हुन्छन्।तर,अङ्कोरवाट भने पश्चिमतिर फर्किएको छ । कतिपय विद्धानले यसलाई विष्णु भगवान सॅंग सम्बन्धित मृत्यु परलोक पूजा वा राजाको समाधिसॅंग जोड्छन् । यस मन्दिरको भित्तामा रहेको देवता र असुर बीचको ‘समुन्द्र मन्थन’ को शिल्पकला विश्वकै महान् शिल्पकला मध्येको एक मानिन्छ ।
करिब ४१ फिट लामो समुन्द्र मन्थनको शिल्पकलामा देवता र असुरले वासुकी नागलाई तानेर ‘अमृत’ निकाल्दै गरेको देखाइएको छ । यस मन्दिरलाई १५ औं शताब्दी पछि अलपत्र अवस्थामा छोडिएको कारण घना जंगलले ढाकेको थियो।पछि १९ औं शताब्दीमा फ्रान्सेली अन्वेषकले पत्ता लगाएपछि बाहिरी विश्वमाझ प्रख्यात बनेको हो ।
कम्बोडियाको राष्ट्रिय प्रतिकको रुपमा रहेको यो मन्दिर कम्बोडियाको झण्डामा समेत अंकित छ । राजा सूर्यवर्मन द्धितीयले भगवान विष्णुलाई समर्पण गरेर बनाएका यो विशाल मन्दिरमा फलाम,स्टिल जस्ता कुनै प्रकारको धातु प्रयोग भएको छैन।सिर्फ ढुंगाको प्रयोग गरेर मात्र निर्माण गरिएको हो । राजा सूर्यवर्मनको समयमा अङ्कोर साम्राज्य विष्णुभक्तिमा समर्पित थियो । यस मन्दिरको भित्तामा रामायण,महाभारत र समुन्द्र मन्थनको समयको कलाकृतीहरु देख्न सकिन्छ । आज अङ्कोरवाट मन्दिर वौद्ध विहारको रुपमा पनि प्रख्यात छ।वौद्ध धर्मका मानिस र अनुयायीहरुको लागी पनि अङ्कोरवाट ठूलो धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।