सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाण्डौ । पादरी गङ्गाप्रसाद प्रधानले १९५७ साल पुसदेखि भारतको दार्जीलिङबाट ‘गोर्खे खबर कागज’ प्रकाशित गर्न थालेका थिए । 'गोर्खे खबर कागज’ प्रकाशनको चार महिनापछि अर्थात् १९५८ साल वैशाख २४ गतेदेखि श्री ३ महाराज देवशमशेरले पं.नरदेव पाण्डेलाई तालुकवाला तोकी समाचारपत्रका रूपमा गोर्खापत्र प्रकाशनमा ल्याएका थिए ।
२००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटासित दार्जीलिङ पुगेका बेला नाट्यसम्राट् बालकृष्ण समले भनेका थिए- ‘दार्जीलिङले आज जे गर्छ नेपालले भोलि त्यही गर्छ ।’
क्रिश्चियन मिशनको सहयोगबाट 'गोर्खे खबर कागज’लाई निरन्तर सञ्चालनमा ल्याइएको थियो । यति हुँदाहुँदै यस पत्रिकामा हिन्दू जातिको विवाहको विज्ञापन पनि छापिन्थ्यो । नेपाली भाषामा विवाहको विज्ञापन गर्ने प्रचलनमा पनि यही पत्रिका पहिलो थियो । • रूपनारायण प्रधान तथा राजमती प्रधानका छोरा गङ्गाप्रसाद प्रधानको जन्म १९०८ असार २२ गते ठंहिटी, काठमाडौंमा भएको थियो ।
रूपनारायण काठमाडौंको हनुमान ढोका दरबारमा द्वारे थिए । श्रीमती खसेपछि उनी काठमाडौंमा टिक्नै सकेनन् । छोरो गङ्गाले दस वर्ष टेकेपछि रूपनारायण दार्जीलिङतिर बसाइँ सरे । त्यस बेला काठमाडौंबाट दार्जीलिङ हिँडेर पुग्न उनीहरूलाई तीन हप्ता लागेको थियो ।
पादरी प्रधानले निरन्तर बत्तीस वर्षसम्म गोर्खे खबर कागज र द गोर्खा प्रेस चलाए । आफ्नो काममा जुट्ताजुट्तै बयासी वर्षको उमेरमा उनी स्वर्गीय भए । त्यसपछि गोर्खे खबर कागज पनि बन्दै भयो ।
स्रोत- nai.com.np